गत मार्च २७ मा निर्माण सम्पन्न गर्नुपर्ने विराटनगरको बुधनगरस्थित निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी ८ महिना ढिलो निर्माण सम्पन्न भएको छ ।
भारत सरकारको करिब १ सय १४ करोड भारतीय रुपैयाँ सहयोगमा भारतीय ठेकेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकनले सो भन्सार चौकी निर्माण गरिरहेको छ । एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगेको र चाँडै नै उद्घाटन गरिने संघीय आयोजना कार्यान्वयन ईकाई विराटनगरका इन्जिनियर राजु शर्माले जानकारी दिनुभयो ।
सो भन्सार जाँच चौकी २४ महिना भित्र निर्माण सम्पन्न गर्ने योजना रहेकोमा शहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयको कानुनी प्रक्रियाका कारण ८ महिना ढिलो निर्माण सम्पन्न भएको हो । मास्टर लिष्टमा भएका सामग्रीहरु भन्सार छुटमा विराटनगर नाकाबाट छिटो आयात गर्न दिएको भए करिब ३ महिना अघि नै निर्माण सम्पन्न भईसक्ने ठेकेदार कम्पनीले दाबी गरेको छ ।
एकीकृत जाँच चौकी भित्र ७ वटा भवन, दुई वटा वेयर हाउस, दुई वटा प्रोसेसिङ यार्ड, दुई वटा धर्मकाँटा र एउटा एनिमेल सेड रहेको छ ।
विराटनगरको बुधनगरमा नेपाल सरकारले अधिग्रहण गरेको १६९ बिगहा जग्गा हस्तान्तरण गरिएपछि २०१७ फेबु्रअरी १ देखि निर्माण थालिएको थियो । भारत तर्फको एकीकृत भंसार जाँच चौकी भने करिब दुई वर्ष अघि नै निर्माण सम्पन्न भइसकेको छ ।
Discussion about this post