प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको बताए ।
अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनसक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्नसक्छ ।
मुद्दा नचलाउने निर्णय गर्नसक्ने अधिकारपनि सरकारी वकिलको कार्यालयलाई छ । तर यो काम आज नसकिने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
आइतबारदेखि तिहार विदा सुरू हुन्छ । उनको मुद्दा चलाउने नचलाउने निर्णय गर्न सरकारी वकिललाई अझै ६ दिनको समय छ । कात्तिक १४ गते महरामाथी मुद्दा चलाउने नचलाउने निर्णय गरिसक्नुपर्छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती प्रयास गरेको अभियोगमा महरामाथि जबरजस्ती करणी उद्योगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो ।
Discussion about this post