लेखनाथ, १० जेठ । पोखरा महानगरपालिका वडा नं. ३० शिशुवाचोकस्थित शिशुवा नागरिक समाज को आयोजनामा संगीतमय पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रम सुरु भएको छ । जेठ ८ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रममा दैनिक रूपमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका लामाचौर निवासी शास्त्री पण्डित शिवदत्त रेग्मी ले संगीतमय शैलीमा पुरुषोत्तम महात्म्य कथा वाचन गरिरहेका छन्। कथा वाचनसँगै भजन, चुड्का, धार्मिक प्रवचन तथा आरती कार्यक्रमसमेत सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।
तारापति पौडेल को संयोजनमा सञ्चालन भइरहेको कार्यक्रममा धर्म, संस्कार, सामाजिक सद्भाव तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजक पक्षले जनाएको छ । कार्यक्रममा सहभागी भक्तजनहरूले कथा वाचनले धार्मिक आस्था र आत्मिक शान्ति प्राप्त गर्न सहयोग पुगेको बताएका छन्।
संस्थाका सल्लाहकार ईन्द्रबहादुर थापा का अनुसार लेखनाथ क्षेत्रका वडा नं. २६ देखि ३३ सम्मका ज्येष्ठ नागरिक, सामाजिक व्यक्तित्व, स्थानीयवासी तथा भक्तजनहरूको दैनिक रूपमा उल्लेख्य उपस्थिति रहने गरेको छ। उनले धार्मिक तथा सामाजिक एकता प्रवद्र्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
कार्यक्रम अवधिभर धार्मिक वातावरणसँगै भजन–कीर्तन, सत्संग तथा सामूहिक आरतीले शिशुवाचोक क्षेत्र भक्तिमय बनेको स्थानीयवासीले बताएका छन्। आयोजकले कथा वाचन कार्यक्रममा सहभागी भई धार्मिक लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ ।






Discussion about this post