लेखनाथ, ९ जेठ । लेखनाथ उद्योग वाणिज्य संघ को आयोजनामा आइतबार संस्थाको सभाहलमा “मूल्य पारदर्शिता र व्यवसायीको भूमिका” विषयक व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बजारमा मूल्य पारदर्शिता कायम गर्ने, उपभोक्ताको अधिकार सुनिश्चित गर्ने तथा स्वच्छ बजार व्यवस्थापनमा व्यवसायीको भूमिका र जिम्मेवारीबारे व्यापक छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख चित्राङ्गत वरालले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ताको अधिकार संरक्षण र स्वच्छ बजार व्यवस्थापनमा पारदर्शिता अनिवार्य रहेको बताए। उनले बजारमा पोके, डेके तथा घुमन्ते व्यापारीका कारण विभिन्न समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन कानुनी मापदण्डअनुसार हुनुपर्ने धारणा राखे ।
उनले वस्तु तथा सेवाको मूल्य निर्धारण गर्दा भौतिक पूर्वाधार, प्राकृतिक स्रोतसाधन, गुणस्तर, सहज पहुँच, आर्थिक हित तथा सामाजिक उत्तरदायित्वलाई ध्यान दिनुपर्ने बताए। व्यवसायी आफैं जिम्मेवार र सचेत बन्न सके स्वच्छ बजार निर्माण सम्भव हुने उल्लेख गर्दै उनले उपभोक्ता अधिकार, स्वच्छ बजार कायम गर्ने व्यवस्था तथा कसुर र सजाय सम्बन्धी कानुनी प्रावधानबारे जानकारी गराएका थिए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत शिवजी वरालले खाद्य पदार्थको स्वच्छता र गुणस्तरसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले दूषित खाद्य पदार्थको बिक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले खाद्य व्यवसायी थप जिम्मेवार हुनुपर्ने बताए। खाद्य पदार्थ सम्बन्धी निषेधित कार्य, खाद्य व्यवसायीको दायित्व, सञ्चयकर्ताको जिम्मेवारी तथा कसुर र सजायका विषयमा उनले विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जानुका पराजुली अधिकारी ले वर्तमान आर्थिक मन्दी, करको चाप तथा बारम्बारको बजार अनुगमनका कारण व्यवसायीहरू समस्यामा परेको बताइन्। उनले राज्यका तीनवटै तहबाट विभिन्न प्रकारका कर लगाइँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको उल्लेख गर्दै व्यवसायीलाई डर र त्रासको वातावरण होइन, सहज र सहजीकरणको वातावरण आवश्यक रहेको धारणा व्यक्त गरिन्।
उनले व्यवसायीहरूको मुख्य चाहना पारदर्शी बजार र कानुनी स्पष्टता भएको बताउँदै व्यवसायीलाई ठगीको आरोप लगाएर त्रसित बनाउनेभन्दा कानुनी सुझाव, सहजीकरण तथा मनोबल वृद्धि गर्ने वातावरण सिर्जना गर्न राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य ले बजार अनुगमनलाई प्रभावकारी र व्यवहारिक बनाउनुपर्ने बताए। उनले विक्रेताले मूल्यसूचीअनुसार वस्तु तथा सेवाको खरिद–बिक्री गर्नुपर्ने धारणा राख्दै उपभोक्ताको अधिकार, मूल्य पारदर्शिता तथा स्वच्छ बजार व्यवस्थापनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। व्यवहारिक कठिनाइका बाबजुद व्यवसायीले कानुनी मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा उद्योगी, व्यापारी तथा व्यवसायीहरूले बजार व्यवस्थापन, कर प्रणाली, अनुगमन प्रक्रिया तथा व्यवहारिक समस्याबारे आफ्ना जिज्ञासा राखेका थिए। सहभागीहरूले बजार अनुगमनलाई दण्डात्मकभन्दा सुधारमुखी बनाउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा गोपीचन्द्र वास्तोला ले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन संघका महासचिव भरतराज ओझा ले गरेका थिए। कार्यक्रममा लेखनाथ क्षेत्रका उद्योगी, व्यापारी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।






Discussion about this post