पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ ।
भजन प्रतियोगितामा पनि सहभागी हुने र यसै अवसरमा कोटिहोम दर्शन गरी दान गर्ने अवसर पनि नछुटाउन देशभरका भजन समूह यति वेला पोखरा केन्द्रित भएका छन् ।
भजन प्रतियोगितामा सहभागी हुने समूहले प्रतियोगितामा मात्रै नभई केही न केही दान गरेर जाने गरेको आयोजकले जनाए ।
भजन प्रतियोगितामा पूर्व रसुवा देखि पश्चिम महेन्द्रनगर सम्ममा ३ सय ५ समूहको सहभागिता रहेको राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
युवा देखि वृद्ध सम्मको सहभागिताले प्रतियोगितामा रौनक छाएको उनले बताए । ‘हाम्रा जिजु बाजेहरूले पहिल्यै देखि गाउँदै गरेको भजन अहिले प्रतियोगिताको रूपमा युवा देखि वृद्ध सम्मको सहभागिता भजन प्रस्तुत भएको छ ’ उनले भने, ‘प्रतियोगितामा ७ देखि ९७ वर्ष सम्म उमेरका व्यक्तिहरूको सहभागिताले पनि हामीलाई हौसला थपेको छ ।’
उनै पराजुलीको पहलमा भजन संस्कृतिलाई जगेर्ना गर्न २०५४ सालमा विन्ध्यवासिनीमा भजन प्रतियोगिता आयोजना गरेका थिए । जसले अहिले सम्म पनि निरन्तर पाएको छ ।
विगत देखि मानव सेवा फाउन्डेसनले भजन प्रतियोगिता आयोजन गरी धर्म संस्कृतिको जगेर्ना गर्न काम गरेको उनको भनाई थियो ।
भजन प्रतियोगितामा रैथाने भजन देखि, ठाडो खैँजडी, देउडा परिमार्जित धार्मिक भजनहरू प्रस्तुत भएको उनले जानकारी दिए । प्रतियोगितामा बिहीबार सम्म १ सय बढी समूहले भाग लिइसकेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।







Discussion about this post