लेखनाथ, ६ वैशाख । कस्तुरी बिरालो (सिवेट) लाई पोखरा महानगरपालिका वडा नं. ३२ को मालेपाटनस्थित कटुजे क्षेत्रमा आज साँझ करिब ५ बजे घाइते अवस्थामा उद्धार गरिएको छ।
मुखमा चोट लागी रगताम्य अवस्थामा देखिएको उक्त वन्यजन्तुलाई स्थानीय सपना जिसीले देखेपछि सहयोगका लागि स्थानीयवासीलाई जानकारी गराएकी थिइन्। त्यसपछि स्थानीय बासिन्दा, राजाको चौतारा प्रहरी चौकीबाट खटिएका प्रहरी जवान तथा कास्की वन कार्यालयको वन्यजन्तु संरक्षण टोलीको संयुक्त प्रयासमा सिवेटको सफल उद्धार गरिएको हो।
सव–डिभिजन वन कार्यालय लेखनाथका प्रमुख सरोज जमरकटेलका अनुसार कस्तुरी बिरालो सानोदेखि मध्यम आकारको राति सक्रिय स्तनधारी जनावर हो। यसको शरीर लामो, खुट्टा साना र पुच्छर लामो हुन्छ। प्रायः ताल आसपास तथा जंगल क्षेत्रमा पाइने यो जनावर पछिल्लो समय मानव बस्ती नजिक पनि देखिन थालेको छ।

उनका अनुसार चालु वर्षमै करिब एक दर्जन सिवेट घाइते अवस्थामा उद्धार गरिसकिएको छ। प्रायः चितुवा वा अन्य जंगली जनावरको आक्रमणबाट सिवेट घाइते हुने गरेको जानकारी उनले दिए।
रातमा सक्रिय रहने यो जनावरले फलफूल, कीरा तथा साना जनावरका अण्डा खाने गर्दछ र सामान्यतया मानिसलाई कुनै हानि पुर्याउँदैन। उद्धार गरिएको सिवेटलाई उपचारपछि पोखरा महानगरपालिका वडा नं. ३१ स्थित पचभैया वन्यजन्तु संरक्षण केन्द्रमा पठाइने जनाइएको छ।







Discussion about this post