कविराज खनाल
लेखनाथ, साउन १० ।
लायन्स क्लब अफ लेखनाथले आफ्नो २८औँ सदस्यता प्रवेश तथा पदस्थापना समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ सदस्यहरूको स्वागत गर्नुका साथै वर्ष २०२६/०२७ का लागि निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापनासमेत गरिएको थियो।

कार्यक्रममा वर्ष २०२५/०२६ का अध्यक्ष लायन्स बोधराज लामिछानेले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानवीय सेवासम्बन्धी गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदन प्रस्तुतिपछि उनले नवनिर्वाचित अध्यक्ष डम्वरु बल्लभ चापागाईंलाई अध्यक्षीय पद, जिम्मेवारी तथा क्लबको नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

समारोहका प्रमुख अतिथि तथा लायन्स इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर लायन्स राजन लम्सालले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लायन्स अभियानले विश्वव्यापी रूपमा प्राप्त गरेको विश्वास र प्रतिष्ठालाई अझ सुदृढ बनाउन सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले लायन्स क्लब अफ लेखनाथ पुरानो, सक्रिय तथा प्रतिष्ठित क्लब भएकाले समाजमा अझ प्रभावकारी सेवा विस्तार गर्न सक्ने पर्याप्त सम्भावना रहेको उल्लेख गरे।
उनले लायन्सका प्रत्येक सदस्यले आफ्नो क्षमता, सीप, अनुभव र स्रोतलाई समाजको हितमा उपयोग गर्नुपर्ने धारणा राखे। स्वरोजगार प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा विपन्न समुदायको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्न उनले सुझाव दिए। साथै, लायन्स परिवारमा आबद्ध सबै सदस्यले संगठनको मर्यादा, अनुशासन र सेवाभावलाई आत्मसात् गर्दै ‘एफ–५’ सिद्धान्तअनुसार जीवन र सेवामा समर्पित हुनुपर्ने बताए।

नवनिर्वाचित अध्यक्ष डम्वरु बल्लभ चापागाईंले आफ्नो कार्यकाललाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै वातावरण संरक्षणलाई पहिलो प्राथमिकतामा राखिने बताए। उनले वृक्षारोपण, सरसफाइ तथा वातावरणीय सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी दिए। त्यसैगरी, विद्यालयस्तरीय शैक्षिक गतिविधि, खेलकुद प्रतियोगिता, बाख्रापैँचो कार्यक्रम, महिला सशक्तीकरण, युवा लक्षित सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गरिने योजना सार्वजनिक गरे।
उनले समाजमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि लायन्स क्लबले विभिन्न साझेदारी कार्यक्रम सञ्चालन गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने, स्वास्थ्य शिविर, रक्तदान, विपद् व्यवस्थापन तथा अन्य मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिइने बताए। संस्थाको विकास र सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याउने लायन्स सदस्य तथा समाजसेवी व्यक्तित्वलाई समय–समयमा सम्मान गरिने पनि उनले जानकारी दिए। समाजलाई लायन्सको मूल मन्त्र “हामी सेवा गर्छौं” (ध्भ क्भचखभ) को भावनाअनुसार अघि बढाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत क्लबले सञ्चालन गरेको ‘पढाऔँ अभियान’ मार्फत अल्फा एकेडेमीमा अध्ययनरत छात्रा सविन वराललाई रु. ५ हजार नगद सहयोग प्रदान गरिएको थियो। यसैगरी धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले ओमकारेश्वर शिव मन्दिरलाई रु. ११ हजार नगद सहयोग प्रदान गरिएको थियो। सहयोग प्राप्त गर्ने पक्षलाई सम्मानसमेत गरिएको कार्यक्रममा जानकारी गराइयो।
समारोहमा पीएमसीसी लायन मनबहादुर रोक्का, डिष्ट्रिक्ट गभर्नर लायन्स सूर्यबहादुर केसी, लायन्स मल्टिपल काउन्सिल चेयरपर्सन केशरबहादुर भण्डारी, संस्थाका पूर्वअध्यक्ष लायन्स शैलेन्द्रमोहन भट्टराई, लायन्स मेजर रामप्रसाद गुरुङलगायत वक्ताले लायन्स क्लबले समाजको आवश्यकता र समयको मागअनुसार आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सेवा, नेतृत्व, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढेमा संस्थाको गरिमा अझ उँचो हुने विश्वास व्यक्त गरे।
वक्ताहरूले लायन्स अभियानले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानव सेवाका क्षेत्रमा पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा स्थानीय सरकार, सामाजिक संघसंस्था तथा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउन सुझाव दिएका थिए।
कार्यक्रममा क्लबका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न लायन्स क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव लायन्स केदारनाथ लामिछानेले गरेका थिए।






Discussion about this post