चैत्र २७ पोखरा
पोखराको सभागृह चोक नजिकै धारिलो हतियार प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हत्या गरेर फरार भएकामध्ये मुख्य व्यक्तिलाई बुटवलबाट पक्राउ गरेको प्रहरीले एक पत्रकार सम्मेलनमा बताएको हो।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी केसीको गत बुधबार बेलुकी खुँडा प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पर्वतको कुश्मा नगरपालिका–११ शिल्मी घर भइ पोखरा–६ मा डेरा गरी बस्ने सन्तोष भन्ने शिशिर केसी (२७) र पोखरा–१७, रातोपाहिरा बस्ने कुशल परियार (३२) लाई पक्राउ गरिएको उनले बताए।
प्रहरीले केसीलाई रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ मनकामना टोलबाट पक्राउ गरेको थियो। केसी यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका थिए। यस अघि उनलाई प्रहरीले अभद्र व्यवहारमा प्रहरीले मुद्दा चलाएको थियो। गत साउनमा पनि उनलाई डाँकाचोरी सम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। पक्राउ परेका परियार यसअघि दुई पटकसम्म लागुऔषध कसूरमा पक्राउ परेका थिए।
प्रहरीका अनुसार पोखरा ५ जिरो किमिस्थित मासु पसल तथा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका ‘खसी किस्ने’ को नामले परिरिच कृष्ण क्षेत्रीको पहिलो श्रीमतीको मृत्यु भएपछि सिर्जना र कृष्णबीच नौ वर्षअघि विवाह भएको थियो। जेठी श्रीमतीतर्फ एक छोरा र दुई छोरी थिए। तीन वर्षअघि कृष्णको मृत्यु भएपछि सिर्जनाले एकल जीवन बिताइरहेकी थिइन्। उनको चार वर्षकी छोरी पनि छिन्। मृतक पौडेल र परिवारका सदस्यबीच पारिवारिक बेमेल रहेको प्रहरीको भनाइ छ।






Discussion about this post