- वसन्तराज तिवारी
पोखरा महानगरपालिकाको पुर्वी क्षेत्रमा रहेको प्रसिद्ध बेगनासताल नेपालको तेश्रो ठुलो तालको रुपमा रहेको छ । पोखरा काठमाडौ जोड्ने पृथ्वी राजमार्गको तालचोकवाट करिव ३ किलोमिटर पश्चिममा रहेको बेगनासताल महानगरको वडा नं.३१ मा पर्दछ।
बेगनासतालको काखमा प्रसिद्ध धार्मिक पर्यटकिय क्षेत्र वराहक्षेत्र तथा बेगनासको शिरमा बेगनासकोट रहेका छन।प्रस्तुत लेखमा बेगनासमा रहेका वराहक्षेत्र तथा बेगनासकोटको परिचय, संरक्षण र विकासको लागि भइरहेका प्रयासहरु, चुनौती तथा संभावनाहरुको वारेमा संक्षिप्त चर्चा गर्ने प्रयास गरिएकोछ ।
वराहक्षेत्रः
बेगनासतालमा अवस्थित प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा वराहक्षेत्र रहेकोछ।वराहक्षेत्रको तिनतिर वेगनासताल तथा एकभाग जमिनसंग जोडिएकोले यो एक किसिमले प्रायद्धिप जस्तो देखिनछ ।
यसको स्थापना सम्वन्धमा विभिन्न अवधारणा मध्ये परापुर्वकालमा कडेलहरुका पुर्खा मध्येका एक वट्टे जैसीले सपनामा भगवान वराहले वदेलको रुपमा प्रकट भई कडेलटुडामा गएर खोस्रेर हेर्दा मेरो शिला देख्नेछौ, पिठको स्थापना गरि पुजाआजा गर्दा तिमिहरुको राम्रो हुन्छ भनेकोले खोस्रेर हेर्दा वराहका शिलालेख देखिएकोले उनका दाजु वृद्धलाल जैसीद्धारा यस पिठको स्थापना भएको मान्यता रहेको पाइन्छ।अर्कोतर्फ परापुर्वकालमा एक हुल हाँस वेगनासताल माथीवाट उत्तरतिर जादै गर्दा क्रमशः वेग घट्दै खसेर मरे।
यसरी हाँसहरु एकै ठांउमा खसेर मरेको देखि स्थानिय युवाहरूले तालको किनारमा तपस्या गर्दै रहेका एक ऋषिलाइ कारण सोध्दा वेगनासतालको कडेलटुडामा सतीदेवीको अंग पतन भई वराहअवतारेश्वर महादेव उत्पन्न भएकोले उक्त ठाउमा पिठको स्थापना गरि पुजाआजा गर्दा राम्रो हुने तथा हाँसहरुसमेत ताल पार गर्न सक्छन भनेको र सोही वमोजिम यस पिठको स्थापना भएको र गाँउको नाम वेगनास तथा तालको नाम वेगनासताल रहन गएको अवधारणा छ ।

दिवंगत हुनुभएका स्थानीय वासिन्दा शिलशोभा कडेल तथा महाविर क्षेत्रीले समेत कयौ पटक वदेलको रुपमा वराहलाई देखेको वताउनु हुन्थ्यो।स्थानीय वासिंन्दामा तालवराहले आटेताकेको पुरा गर्छन भनि नवरात्री अवधिको महाअष्टमी तथा महानवमीमा हाँस, कुखुरा तथा वोका काटेर पशु वलि दिने चलन रहेकोछ ।
वेगनासतालमा माछापालनको पेशा अपनाउदै आएका जलारी समुदायले तालवराहको पुजा गर्दा जालमा वढी माछा पर्ने गरेको विश्वासका साथ कोजाग्रत पुणिमाको दिनमा वलि दिने प्रचलन रहेकोछ।तालवराहको पुजा पश्चात तालवाराहीको पुजा गर्दा राम्रो हुने र फल प्राप्त हुने स्थानीय वासिन्दामा विश्वास समेत रहेको पाइयो।
बेगनासकोटः
वेगनासको शिरमा रहेको वेगनासकोट समुन्द्र सतहवाट १,२१७ मिटरको उचाईमा रहेकोछ। बेगनासकोटवाट उत्तरतर्फ रहेका अन्नपुर्ण हिम श्रृखलाका सुन्दर हिमाल तथा वेगनासतालको साथै पोखरा महानगरका विभिन्न भागको दृष्यावलोकन गर्न सकिने यस कोटको स्थापना नेपाल एकिकरण अगावै चौविसे राज्यमध्येको एक राज्य कास्की राज्यको स्थापना स्याङ्गजा नुवाकोटका राज्यका राजा कुलमण्डल शाहले विक्रम सम्वत १५२५ मा गरेका थिए।
कास्की राज्यका राजाले राज्यलाइ विस्तार गर्न कोट किल्लाहरुको स्थापना गर्दै कोटहरुमा मौलो, कालीका, देवी, भैरव, देउराली लगायतको स्थापना गरी पुजा गरी वलि दिने चलाएका थिए। यी कोट/किल्लाहरुको सुरक्षाको लागि आफ्ना सात भाई छोराहरुलाई खटाएकोमा वेगनासमा विग्रिदी शाह खटिएका थिए र वेगनासमा उनको पालादेखी राज्य तथा प्रजाको हित र रक्षाको खातिर नियमित पुजाआजा गर्दै वलिसमेत दिने प्रचलन शुरुवातभई आएकोमा हालसम्म समेत यो प्रथा कायम रहेकोछ ।

वेगनासकोटमा हाल कोटभैरवको मन्दिर तथा मौलो समेत स्थापना गरी प्रत्येक वर्ष महानवमीको दिनमा वोका तथा रांगोको वलि दिने,नवरात्रीको अवधिका सवै दिनमा पुजाआजा तथा धार्मिकग्रन्थ पाठ हुने गरेकोछ।पुजालाई व्यवस्थित तथा नियमित गर्न विभिन्न थर तथा जातीलाई विभिन्न कामको जिम्मा दिइएको छ । पुजापाठ गर्ने, करर्ता वस्ने, साइत हेर्ने, वाजा वजाउने, वली दिने लगायतका कामहरु विभिन्न जातीहरुलाई वाँडिएकाछन र सवैले आआफ्नो जिम्मेवारी अनुसारको काम गर्दै आएका छन।वेगनासकोटमा हुने पुजाआजा तथा वलीको लागि गुठीको व्यवस्था रहेको र गुठीवाट प्राप्त हुने सिमित रकमवाट नवदुर्गा तथा अन्य समयमा समेत संचालन गर्नुपर्ने पुजा व्यवस्थापन चुनौतीपुर्ण हुदै गएकोछ।

संरक्षण तथा विकासको लागि भएका प्रयासहरुः
तालवराह तथा वेगनासकोटको संरक्षण तथा विकासको लागि लामो समयदेखि विभिन्न प्रयत्न तथा प्रयाशहरु भएको भएता पनि ति प्रयाशहरु पर्याप्त तथा पुर्ण हुन सकेका छैन्न तथापी हाल आएर केही देखिने कामहरुको शुरुवात भएकोले स्थानीय वासिन्दामा आशाको संचार भएकोछ, हालसम्म भएका प्रमुख प्रयत्नहरु निम्न अनुसार छनः
- करिव ४ दशक अघि एकजना भारतीय सन्त वराहक्षेत्रमा आश्रम वनाइ एक छाक खाई ३/४ वर्ष नित्य पुजाआजा गर्नुभएको ।
- दिवंगत भैसक्नु भएकी स्थानीय वासिन्दा शिलशोभा कडेलले वराहक्षेत्रमा करिव ७ वर्ष आश्रम वनाइ पुजाआजा गर्नुभएको ।
- स्थानीय पंण्डित श्री मित्रलाल लामिछानेले समेत वराहक्षेत्रमा विभिन्न समयमा पुजाआजा गर्दै आउनु भएको ।नवरात्रिको घटस्थापनादेखि कोजाग्रत पुर्णिमाको अवधिसम्म विशेष पुजाआजा हुने गरेको ।
- वराहक्षेत्रलाइ वृहत धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको समग्र विकासमा योगदान दिन करिव रु.११ करोडको विस्तृत आयोजना प्रतिवेदन तयार भएको ।
- गण्डकी प्रदेश सरकारवाट चालु आर्थिक वर्ष २०७९/८० को वजेट वक्तव्यमा बेगनास वराहक्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने उल्लेख गर्दै पयर्टकीय पुर्वाधार निर्माणको लागि रु.५० लाख वजेट विनियोजन।
- बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाले यस क्षेत्रको समग्र विकासको लागि विक्रम सम्वत २०७५ मा महापुराणको आयोजना गरि सम्पन्न गरेको।
- प्रदेश सरकारवाट विनियोजित रकम तथा बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको महापुराणमा संकलन भएको रकमवाट हाल वराहक्षेत्रमा तालवराह तथा लक्ष्मी नारायणको मन्दिर निर्माण कार्य भइरहेको ।
- पोखरा महानगरको सहयोगमा आर्थिक वर्ष २०७८/७९ देखि वराहक्षेत्र वेगनासकोट पर्यटकिय पदमार्ग निर्माण शुरु भएकोमा तथा चालु आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेश सरकारको समेत सहयोग रहेको ।करिव १५०० मिटर पदमार्ग तथा अन्य मार्ग समेत गरि करिव २५०० मिटर लामो रहेको पदमार्ग हाल सम्पन्न हुने चरणमा रहेको ।
- पदमार्गले बराहक्षेत्रलाई शिवालय,पानीट्याङ्गकी, शानीदेराली,वनवाटिका हुदै बेगनासकोट/कोटवारीलाई जोडेको, वराहक्षेत्रवाट करिव १ घण्टामा वेगनासकोट पुग्न सकिने ।साथै देउराली, किरातेश्वरमहादेव, कमलामाई हुदै माझठानासम्म तथा शिवमन्दिर अदुवावारी हुदै मांझीकुनासम्म जोड्ने ।
- वेगनासकोटमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा विक्रम सम्वत २०७८ चैत्र ९ गते गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गर्नु भएको कोटभैरव(महाकाल)को मन्दिर सम्पन्न भई २०७९ चैत्र अष्टमीमा पोखरा महानगरका नगरप्रमुख श्री धनराज आचार्यवाट उद्धघाटन भई पुजाआजा शुरु भएको ।
- वेगनासकोट क्षेत्रलाई संरक्षण गर्न गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरवाट आर्थिक सहयोग प्राप्त भएको ।आर्थिक वर्ष २०७८/७९मा गण्डकी प्रदेश सरकारको सहयोगमा कोटको पुर्वी भागमा वालको निर्माण भएकोमा यस वर्ष पोखरा महानगरको सहयोगमा पश्चिमी भागमा वाल निर्माणको कार्यको नगरप्रमुख श्री धनराज आचार्यवाट शुरुवात भइ सम्पन्न हुने चरणमा रहेको।
- वराहक्षेत्र वेगनासकोट पदमार्गलाई धार्मिक तथा पर्यटकिय मार्गको रुपमा निर्माण गरिएको ।पदमार्गलाई बेगनासताल तथा रुपाताल तथा अन्नपुर्ण हिमश्रृंखलाको दृष्यावलोकन साथै हाइकिङ्गको रुटको रुपमा समेत प्रयोग गर्न सकिने गरि निर्माण भएको।पदमार्गको रुटमा सुन्दर जंगल मानव निर्मित पोखरी समेत पर्ने हुंदा मृग, मलसाप्रो, जंगली खरायो,वन कुखुरा, कालिज, ढिकुर लगायतका पशुपंक्षी समेतको अवलोकन गर्न सकिने ।
- पदमार्ग रूटमा पर्ने शिवालयको पुनः निर्माण सम्पन्न भैसकेको र सानो देउरालीको पुनः निर्माणको प्रक्रियामा रहेको।
- वेगनासतालमा स्नान गरि तालवराह/लक्ष्मीनारायण तथा कोटभैरवको दर्शन तथा पुजा सहज रुपमा गर्ने अवस्थाको सृजना भएको ।
चुनौति तथा संभावनाः
- वराहक्षेत्रको चर्चा भएको लामो सयमसम्म यस क्षेत्रको विकासको लागि आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्दा मन्दिर लगायका धार्मिक संरचनाहरुको निर्माण हुन नसक्नु ।
- विस्तृत आयोजना प्रतिवेदन तयार भएको भएता पनि प्रतिवेदन वमोजिम स्रोतको व्यवस्थापन गर्ने कार्य चुनौतीपुर्ण रहेको ।
- वेगनासताल माथीवाट संभाव्यता अध्ययन गरि वराहक्षेत्र वा भंगेरीमा झोलुगे पुलको निर्माण गर्न सकेमा समग्र यस क्षेत्रको आर्थिक विकासमा ठुलो टेवा पुग्ने ।साथै बेगनासकोटदेखि स्याङ्गखुदीसम्म सराङ्गकोटवाट विस्थापित प्याराग्लाइडिङ्गलाइ संचालन गर्न सकिने संभाव्य अवस्था।
- वराहक्षेत्र वेगनासकोट पदमार्गलाई अझ व्यवस्थित गरी पदमार्गलाई फराकिलो र ठाँउठाँउमा विश्रामस्थल वनाउनुपर्ने ।
- वेगनासकोटमा संरक्षणको लागि थप स्रोतको आवश्यकता छ। प्रदेश सरकार तथा महानगरको समेत सहयोग प्राप्त भएकोले आगामी आर्थिक वर्षमा समेत प्राथमिकतामा पर्ने अपेक्षा।
- वराहक्षेत्रमा आएका पर्यटकलाई करिव १ घण्टामा पदमार्ग हुदै वेगनासकोटमा पुगि कोटभैरव/महांकालको दर्शन तथा हिमाली श्रृखला तथा वेगनासताल लगायतका दृष्यावलोकन गर्न सकिने ।स्वास्थ्य तथा मनोरन्जनका लागि हाइकिङ्ग, विदा मनाउनेहरुको लागि वराहक्षेत्र बेगनासकोट पदमार्ग राम्रो गन्तव्यको रुपमा विकास भएको ।
- वेगनासतालसम्म आएका पर्यटकहरुलाई वराहक्षेत्र तथा बेगनासकोट पुग्न तालमा सहज यातायातको व्यवस्थापन गर्ने कार्य चुनौतीपुर्ण रहेको।
- वराहक्षेत्र समेत जोड्ने वेगनासतालको वरीपरी प्रदेश तथा संघीय सरकारवाट समेत वजेट विनियोजन भएको राउण्ड वेगनासताल पदमार्गको निर्माण चुनौतीपुर्ण रहेको।
- वराहक्षेत्र, पदमार्ग तथा बेगनासकोट मन्दिरको निर्माणले यस क्षेत्रमा पर्यटकको अगमनमा वृद्धि भई परम्परागत कृषि पेशमा रहेको जनशक्तीलाई होटल, होमस्टे, रेष्टुरेण्ट, ट्रेकिङ्ग, जलयातायात लगायतका सेवा क्षेत्रमा रुपान्तरण गरी आय आर्जनको अवसर सृजना भई रोजगारी सृजना, वसाइसराईलाई निरुत्साहित गर्ने ।
समग्रमा वराहक्षेत्र तथा वेगनासकोट पोखराको पुर्वी भागमा रहेका प्रमुख पर्यटकिय गन्तव्य हुन ।आर्थिक श्रोत तथा समुचित प्रचार तथा प्रसारको अभावले यस क्षेत्रको विकासमा अपेक्षित गति लिन नसकेको भएता पनि हाल यस क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरको समेत ध्यान गएको र आगामी दिनमा निजी क्षेत्र तथा नागिरक समाजको समेत सहयोग प्राप्त भई समग्र बेगनास, माझाठाना सहित लेखनाथ क्षेत्रको समेत आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने देखिन्छ।
सन्दर्भ सामाग्रीः
- तिवारी वसन्तराज, वेगनासमा अवस्थित वराहस्थानः एक संक्षिप्त परिचय, समाधान राष्ट्रिय दैनिक, २०६४ मंसिर १
- वेगनासकोटको परिचय, वेगनासकोट धार्मिक विकास संस्था पोखरा, कास्की ।
- वार्षिक विकास कार्यक्रम पुस्तिका, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका, आर्थिक वर्ष २०७९।८० ।
- गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वजेट वक्तव्य, अर्थ मन्त्रालय मन्त्रालय, पोखरा ।
- स्थानीय जानकारहरु ।
Discussion about this post