साउन ४, काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढेसँगै गण्डकी प्रदेशको राजधानी पोखरामा पनि राजनीतिक भेटघाट तीब्र बढेको छ। केही समय देखि कास्की कांग्रेस भित्र ५० को दशकको स्थितिबाट कास्की कांग्रेस कसरी तल झर्यो भन्ने बहस हुन् थालेको छ। कुनै समय कांग्रेसको केन्द्रिय राजनीतिमा विशेष प्रभाव राख्ने कास्कीको शक्ति ६३ को परिवर्तन पछि क्षीण भएको विश्लेषणहरु हुन थालेका छन्।
कास्कीमा नयाँ पुस्ता विस्तारै हाबी हुँदै जाँदा पुराना नेताहरु विस्तारै पाखा लाग्ने विश्लेषण हुन् थालेको छ। जसले केन्द्रिय राजनीतिमा कुनै बेला आफ्नो भिन्दै पहिचान बनाएका पुराना नेतात्रय तारानाथ रानाभाट, शुक्रराज शर्मा र महादेव गुरुङ दबाबमा परेका छन्।
स्रोतका अनुसार कास्की कांग्रेसमा शुक्र-तारा-महादेवहरुले पुस्तान्तरणमा व्यवास्ता गरेको भन्दै भित्रभित्रै नयाँ टिम बनिरहेको छ। र, यी नेताहरुलाई एकआपसमा भिडाएर यसपटक महाधिवेशन प्रतिनिधि पनि हराउने खेल हुने छन्। कांग्रेस भित्र हिन्दू राष्ट्र पक्षधर र धर्म निरपेक्षता पक्षधरको स्पष्ट कित्ताकाट सुरु भएको बेला धर्म निरपेक्षताबारे फरक मत राख्ने तीन नेताहरुलाई हराउन केन्द्रिय राजनीतिक गिरोह नै लागेको स्रोतको दाबी छ। नेता त्रय नै आफूहरु माथि यसपटक थ्रेट रहेको बताउन थालेका छन्।
गणतन्त्रको घोषणा पछि तत्कालिन सभामुख एवम् कास्कीका नेता तारानाथ रानाभाटको राजनीतिक प्रभाव क्षीण हुन पुग्यो। रानाभाटले ४७को संविधान विरुद्ध आफू जान नसक्ने अडान लिएपछि तत्कालिन महाराजधिराज ज्ञानेन्द्र शाहले पुनःस्थापित गरिदिएको संसद उपसभामुख चित्रलेखा यादवले संचालन गरेकी थिइन्। जानकारहरु त्यहिँ विन्दु देखि कास्कीको राजनीतिबाट ‘पावर सिफ्ट’ भएर तनहुँमा पुगेको बताउँछन्। तनहुँमा पनि पूर्व सहमहामन्त्री गोविन्दराज जोशी भ्रस्टाचारमा मुछिएपछि गण्डकीको भेग नेता रामचन्द्र पौडेलको ‘कमाण्ड’मा पुगेको थियो। अहिले रानाभाट केबी गुरुङ समूहमा छन्। केबी गुरुङ, गोविन्द राज जोशी, लक्ष्मण घिमिरे, लोकेश ढकाल लगायतको समूहले कांग्रेस भित्र हिन्दू राष्ट्रको अभियान चलाइरहेको छ।
यद्धपी ६३ पछि पनि कास्कीबाट कांग्रेस केन्द्रिय राजनीतिमा प्रतिनिधित्व नभएको होइन। केन्द्रिय सदस्यमा जीवन परियार, रामजी कुँवरले कास्की प्रतिनिधित्व गरेका थिए भने कास्कीका पूर्वसभापति यज्ञ बहादुर थापा यस अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारको क्याबिनेट मन्त्री नै बनेका थिए। तर जानकारहरु भने प्रतिनिधित्व हुनु र नेतृत्व हुनुमा भेद भएको भन्दै पछिल्ला उदाहरणहरुले राष्ट्रिय राजनीतिलाई दिशा दिन नसकेको गुनासो गर्छन।
रानाभाट पक्षीय एक नेताले भने, ‘तारानाथ दाइको त राष्ट्रिय राजनीतिमा त अझै अडान छ। राजाबारे बहस हुँदा सबैले उहाँलाई नै खोज्नु पर्ने हुन्छ। भलै अहिले सत्ता र शक्तिको राजनीतिमा हुनुहुन्न तर एउटा धारको नेतृत्व त उहाँले अझै गरिरहनु भएको छ। त्यस्तो प्रभाव त्यसपछिको नेतृत्वले दिएन भन्ने हो।’
त्यस्तै रानाभाटको पतनले कास्कीका अरु नेताहरुको महत्व पनि राष्ट्रिय राजनीतिबाट घटाइ दियो। कास्कीको १७ वर्ष नेतृत्व गरेका पूर्व आमन्त्रित केन्द्रिय सदस्य शुक्रराज शर्मा पनि लामो समय भूमिकाहिन स्थितिमा पुगे। शर्मालाई तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रको रुपमा लिने गरिन्थ्यो। तर कोइरालाको अन्तिम दिनहरुमा शर्मा टाढिएका थिए।
शर्मा निकट एक नेता भन्छन्, ‘कारण थाहा भएन तर अन्तिम समयमा पहिले जस्तो सम्बन्ध थियो। त्यो थिएन। झन् उहाँको निधन पछि त उहाँलाई सम्मानजनक व्यवहार पनि भएन।’
यस अघिको महाधिवेशनमा लामो समय षड्यन्त्रपूर्वक भूमिकाविहीन बनाइएको भन्दै केन्द्रलाई देखाइदिनको लागि भन्दै शर्मा कास्कीको सभापति हुन कस्सिए। तर कास्कीका कार्यकर्ताहरुमा त्यसले ‘नेगेटिभ’ असर पर्यो। पुस्तान्तरण गर्नुपर्ने बेलामा केन्द्रिय सदस्य भइसकेको व्यक्ति फेरी जिल्ला सभापति उठेको भन्दै आलोचना भयो। जसकारण उनले लज्जास्पद हार व्यहोर्न बाध्य भए।
शर्मामात्रै होइन कांग्रेसका युवा नेता महादेव गुरुङको पनि राजनीतिमा प्रभाव क्षीण हुँदै गयो। युवा अवस्थामा नै मन्त्री बनिसकेका गुरुङलाई त्यसपछि कोइराला क्याम्पले नै पत्याउन छोड्यो। त्यसपछि यस अघिको महाधिवेशनमा देउवा क्याम्पमा पुगेका उनि केन्द्रिय सदस्यमा पराजित हुन पुगेका थिए।
केही दिनअघि एक अन्तर्वार्तामा गुरुङले त स्पष्ट शब्दमा तत्कालिन सभापति कोइरालासँग माओवादीसँग भइरहेको वार्ताबारे टिप्पणी गरेपछि दूरी बढ्दै गएको स्वीकार गरेका छन्। लामो समयसम्म मौन बसेका उनले त्यतिबेलाको स्थितिबारे बल्ल मुख खोलेका हुन्। ‘गिरिजाप्रसाद कोइरालासँग डिफरेनसेस बढ्यो। त्यतिबेला म सांसद थिए। माओवादी शान्ति प्रक्रियामा आइसकेका थिए। गिरिजाबाबुसँग मेरो राम्रो पहुँच थियो। वार्ता टोलीमा बसेका साथीहरुको वार्ता पनि हेरे। प्रचण्डले जे-जे भन्छ त्यो सबै स्वीकार्दै जाने। मलाई त्यो कुरा चित्त बुझेन,’ भन्दै गुरुङले भने, ‘त्यसपछि मैले गिरिजा बाबुलाई यो कांग्रेस पार्टी हो कि माओवादी भनेर सोधे। गिरिजा बाबुले किन महादेव भनेर सोध्नु भयो। त्यसपछि मैले भने, कांग्रेस पार्टीको त आफ्नो स्ट्यान्ड छ नि। हुनु पर्यो नि। सम्झौता गर्नुपर्छ। गर्न हुँदैन म भन्दिन तर ‘गीभ एण्ड टेक’ त हुन्छ नि। हामीले के के कुरा छोड्ने भन्ने र उनीहरुले के के छोड्ने भन्ने कुरा त हुन्छ नि। सबै स्वीकार्दै भएन नि। त्यसबेला गिरिजाबाबु बोल्दै बोल्नु भएन।’
गुरुङले नेतृत्वसँग बढेको दूरीले गर्दा आफू पेलानमा परेको पनि स्वीकारेका छन्। गुरुङले नेतृत्वसँग असहमति बढेकै कारण आफूलाई धेरैले निस्क्रिय देखिएको आरोप लगाएपनि त्यो सत्य नभएको बताएका छन्। उनले आफू अझै पनि कांग्रेसलाई वीपी कोइरालाले देखाएको बाटोमा फर्काउन लागि परेको बताउँछन्। उनले भने, ‘डिफरेन्सेस बढ्दै गइसकेपछि, पेलान त हुन्छ नि। त्यसैले, निस्क्रिय भए जस्तो अरुलाई पर्न गएको हो।’
रानाभाटसँगै शर्मा र गुरुङको राजनीति जोडिएको छ। केन्द्रिय राजनीतिमा रानाभाटलाई गिरिजाप्रसाद कोइरालाका कट्टर प्रतिद्वन्दी मानिन्थयो। विभिन्न काण्डहरुमा कोइराला बदनाम हुँदै गएपछि दरबारले रानाभाटलाई देखाएको सहानुभूतिले कोइराला झस्किएका थिए।
त्यसै स्वरुप कास्कीमा नै अर्को नेतृत्व विकास गर्नु पर्ने उनलाई बाध्यता थियो। जसले गर्दा उनले शर्मालाई विशेष महत्व दिए, स्थान दिए। त्यति मात्र नभई शर्मालाई नै काउन्टर गर्न मदत होस् भनेर गुरुङलाई युवा अवस्थामा नै मन्त्री बनाएका थिए। उनलाई राज्य मन्त्री नभई आफ्नो मन्त्रीमण्डलमा क्याबिनेट मन्त्री बनाउन कोइराला लागेका थिए भन्ने कुरा कोइरालाका विश्वास पात्रहरु नै बताउँछन्।
यसबारे एक राजनीतिक विश्लेषक भन्छन्, ‘गिरिजबाबुको गेम प्लान हो त्यो। एउटा राजनीतिक नेतृत्व विकास गर्ने अनि त्यहिँ ठाउँबाट समानान्तर राजनीतिक नेतृत्व विकास गर्ने। अनि दुईमा खेल्ने। तनहुँमा त्यहि भयो। रामचन्द्र र गोविन्दराज। कास्कीमा तारानाथलाई काउन्टर गर्न शुक्रराज। र यी दुवैलाई साइजमा ल्याउन महादेव। त्यसैले पनि एउटा शक्तिहीन हुँदा त्यसले सबैलाई असर गर्यो।’
विचारमा तीन नेताहरुको एकमत भएपनि संगठनिक हिसाबले उनीहरु बीच अझै प्रतिस्पर्धा रहेको छ। उनीहरु एकले अर्काको अस्तित्व स्वीकार गर्दैनन्। तीन नेता नै अहिलेको राजनीतिक परिवर्तनबारे केही न केही रुपमा असन्तुष्ट छन्। बेला बेलामा उनीहरुले त्यो आवाज मुखरित पनि हुन्छ। रानाभाट र गुरुङले स्पष्टसँग अहिलेको परिवर्तनबारे पुनःविचार गर्नु पर्ने बताउँदै आएका छन्। तर शर्मा भने अहिलेसम्म बाहिरी रुपमा केही नबोले पनि उनि असन्तुष्ट रहेको बुझिएको छ। तर तीन जनालाई नै हिन्दू राष्ट्रको साझा एजेण्डा लिएर अघि बढ्न कार्यकर्ता पंक्तीबाट चर्को दबाब छ।
अहिले संगठनको हिसाबले यी तीन नेता एक ठाउँमा नआउँदा कास्कीमा बाहिरका नेताहरुले खेल्ने ठाउँ पाइरहेको कार्यकर्ताको गुनासो छ। कास्कीमा सक्रिय एक स्थानीय नेताले भने, ‘अहिले सबै शक्तिहीन छन्। सबैलाई अन्याय भएको छ। तर वैचारिक हिसाबले एक छन् सबै। तर जिल्लाको नेतृत्व देखि माथिसम्म कोही मिल्दैनन्। तीन जनाले नै केन्द्रिय सदस्यमा उम्मेदवारी दिन्छन्। तर एकले अर्कोलाई भोटसम्म हाल्दैनन्। कास्की कांग्रेसमा लागेको ग्रहण कहिले अन्त्य हुने हो थाहा छैन। यसरी नै अघि बढे यही अधिवेशनबाट यिनीहरुको राजनीतिक अवसान हुन्छ।’
आसन्न महाधिवेशनमा हिन्दू राष्ट्रबारे जोडतोडको आवाज उठ्ने आन्तरिक तयारी हुँदै गर्दा कास्कीबाट यी तीनको स्थिति कस्तो हुन्छ भन्नेमा धेरैको ध्यान गइरहेको छ। – नेपालदीप बाट
Discussion about this post