अशोक विश्वकर्मा । विभाजनको संघारमा पुगेपछि नेकपाका दुई पक्षधरको विवाद तनहुँमा चुलिन थालेको छ । कार्यकर्ता भेला छुट्टै गरेर कार्यक्रम गर्दै आएका ओली र प्रचण्ड–माधव पक्षका विच जिल्लाको पार्टी कार्यालय प्रयोग गर्ने विषयलाई लिएर आइतबार विवाद भएको हो ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान सहभागि हुने गरि प्रचण्ड खेमाले कार्यक्रम पार्टी कार्यालयमा आयोजना गर्ने तयारी भएपछि ओली पक्षले रोक्ने प्रयास गरेको थियो ।
जिल्लामा नेकपाका अध्यक्ष ओली पक्ष (पुर्व एमाले)का केदार सिग्देल रहेका छन् भने सविच प्रचण्ड पक्ष(पुर्व माओबादी)का अतिन्द्र केशरी न्यौपाने रहेका छन् । पुर्व एमालेको पार्टी कार्यालयलाई एकता पश्चात नेकपाको पार्टी कार्यालयको रुपमा स्थापित गरिएको थियो ।
उक्त कार्यालयमा प्रचण्ड पक्षलाई कार्यक्रम नगर्न जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देलले फोन गरेपछि विवाद भएको हो । सिग्देलले सिधै आफुलाई फोन गरेर पार्टी कार्यालय प्रयोग नगर्न अनुरोध गरेको मन्त्री चुमानले बताए ।
आफुहरु अझै पनि एकताको पक्षको रहेको भन्दै पार्टी कार्यालय निर्वाचन आयोगले बैधानिकता नदिदाँसम्म दुवै पक्षले प्रयोग गर्न पाउनुपर्ने जवाफ दिदाँ समेत सिग्देल नमानेको चुमानले गुनासो गरे ।
झपड हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले फोन गरेपछि मध्यस्तता गर्न आग्रह गरेर पार्टी कार्यालयमा नै प्रचण्ड खेमाले कार्यक्रम सम्पन्न गरेको थियो । उनीहरुले कार्यक्रम गर्ने जानकारी पाएपश्चात कार्यालयको कुर्ची ओली पक्षले लुकाएका थिए । तर ताला फोडेर भएपनि कुर्ची प्रयोग गर्ने निर्णयमा पुगेको प्रचण्ड खेमाका कार्यकर्ताले झडप ननिम्त्याउने भन्दै भाडाका कुर्ची ल्याएर कार्यक्रम गरेको एक नेताले जानकारी दिए ।
कार्यक्रम भएको समयमा पार्टी कार्यालय प्रहरीको उच्च सुरक्षा घेरामा रहेको नेकपा प्रचण्ड माधव पक्षका नेताहरुले बताएका छन् ।
Discussion about this post