युरोपियन च्याम्पियन्स लिगमा आज (मंगलबार) राति बहुप्रतिक्षित दुई टोली युभेन्टस र बार्सिलोनाको खेल हुँदैछ । पुराना प्रतिद्धन्द्धीसमेत रहेका यी दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेल्न लागेका हुन् ।
इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस जायन्ट बार्सिलोनाबीचको खेल स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ ।
सन् २००९ मा रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएपछि एक अर्काबीच प्रतिस्पर्धाले उच्च विन्दु छोएको थियो ।
बार्सिलोनाको मैदान क्याप नोउमा हुने समूह चरणको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलको हार–जितले दुवै टोलीलाई कुनै फरक पार्दैन । किनकि, युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।
समूह ‘जी’ मा बार्सिलोना १५ अंकसहित शीर्ष स्थानमा रहँदा युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । समूह चरणको पहिलो खेलमा रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण अनुपस्थित रहँदा खेल केहि खल्लो भएको थियो ।
Discussion about this post