तनहुँ । तनहुँको पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य सुरु भएको छ । जिल्लाको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण हुनेछ भने तिन गाउँपालिकाहरु, ऋषिङ्ग, म्याग्दे र देवघाटमा १० शैयाको अस्पताल निर्माण हुनेछ । यस्तै भानु नगरपालिकामा बन्ने १५ शैयाको अस्पतालको भने शिलान्यास कार्यक्रम स्थगित भएको छ ।
सरकारले देशका सवै स्थानीय तह अस्पताल निर्माण गरि नागरिकरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन देशभर ३९६ अस्पताल र सात प्रदेशमा सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ ।
सोही अनुरुप तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित वडा न ११ विसौनामा बन्ने अस्पतालका प्रदेश सांसद तथा पुर्व मन्त्री आशा कोइरालाले, भिमादमा बन्ने अस्पतालका संघीय सांसद केदार सिग्देलले, देवघाट गाउँपालिकाको संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले, ऋषिङ्ग गाउँपालिकाको गाउँपालिकाका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले, म्याग्दे गाउँपालिकाको गाउँपालिका प्रमुख माया रानाले शिलान्यास गरेका छन् ।
भानु नगरपालिकामा भने शिलान्यास कस्ले गर्ने भन्ने विषयमा नेकपा र काँग्रेस बीचको विवादका कारण कार्यक्रम स्थगित भएको बुझिएको छ । यस अघि नगर प्रमुख उदयराज गौलीले अस्पतालको शिलान्यास गर्ने गरि कार्यक्रमको तयारी भएता पनि नेकपाका कार्यकर्ताहरुले सांसद श्रेष्ठ मार्फत शिलान्यास हुनुपर्ने भन्दै विरोध गरेपछि कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित विसौनामा सरकारले १५ शैयाको अस्पताल निर्माण गर्ने भएपछि स्थानीयमा खुशी छाएको छ । सरकारले पालिका स्तरमा नै अस्पताल निर्माण गर्ने निति लिएसंगै विसौनामा अस्पताल बन्ने भएको हो । विसौनामा बन्न लागेको अस्पतालको आइतबार गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री आशा कोइरालाले शिलान्यास गर्नुभयो ।
पृथ्वीराज मार्गबाट झण्डै २० किलोमिटरको दुरीमा रहेको ग्रामिण क्षेत्रमा बन्ने अस्पतालका शिलान्यास गर्दै सांसद कोइरालाले ग्रामिण क्षेत्रको विकासका लागि सरकारको निर्णय कोशेढुंगा सावित हुने दावि गर्नुभयो । उहाँको ग्रामिण क्षेत्रका नागरिहरुलाई स्वास्थ्य सुविधा लिन बजार केन्द्रित हुन नपर्ने बताउनुभयो । उहाँले अस्पताल निर्माण समयमा सक्न स्थानीयहरु सक्रिय र सचेत बन्नुपर्ने बताउनुभयो ।
जिल्लाको राईपुर, विसौना र स्याङ्गजाका ग्रामिण क्षेत्रका नागरिकहरुलाई पायक पर्ने गरि अस्पताल निर्माण हुने भएपछि विरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने यहाँका स्थानीयहरुले विस्वास ब्यक्त गरेका छन् ।
“विरामीलाई अस्पताल लैजादै गर्दा बाटोमा ज्यान गुमाउनुपरेको घटना ताजै छ ।” राजपुरका कृष्णप्रसाद भट्टराईले विगत सम्झदै भन्नुभयो “बषौँदेखिको हाम्रो आवश्यकता र सपना पुरा हुदैछ ।” भट्टराईले ग्रामिण क्षेत्रका नागरिहरुको कमजोर आर्थिक अवस्थालाई सम्वोधन गर्न र बढ्दो बसाईसराई रोक्न अस्पतालले सहयोग पु¥याउने विस्वास ब्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा सहभागि हुनुभएकी शुक्लागण्डकी ११ बाँसपानीकी सरस्वती भट्टराईले यस अघि सुत्केरी महिलालाई डोकोमा बोकेर शहर लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो । आवश्यक समयमा यातायातको सुविधा नपाउने यहाँका स्थानीयहरु घण्टौँको यात्रा गरेर स्याङ्जा सदरमुकाम वा जिल्लाको दुलेगौडा हुदै पोखरा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
विसौनामा अस्पताल निर्माण गर्न केन्द्र सरकारले १८ करोड बजेट विनियोजन गरेको छ । पहिलो चरणमा एक करोड रुपैयाँ बजेट प्राप्त भएको स्वास्थ्य समन्वय समितिका सचिव जीवन पोख्रेलले जानकारी दिनुभयो ।
आगामी दुई बर्षभित्र अस्पताल संचालनमा ल्याउने गरी टेन्डर आह्वान गर्न सरकारले पालिकाहरुलाई निर्देशन दिएको छ । उक्त अस्पतालबाट एमबिबिएस डाक्टरसहित इर्मेजेन्सी सेवा, इसिजी, एक्सरे, भिडियो एक्सरे, माइनर अप्रेशनसम्मको सुविधा उपलब्ध हुने जनाइएको छ ।
अस्पतालबाट राईपुर, भुष्नापुर ,थामडाँडा, सिम्लेस्वाँरा, खोलाखेत, ओडारे, गहते, हट्टिया, स्याङ्जाको कोल्मा, नाम्चे, पोखरीछाप, ओरष्टे, किचनास, सालडाँडा लगायतका स्थानीय लाभान्वित हुनेछन् ।
Discussion about this post