काठमाडौं । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम मङ्गलवारदेखि सुरु भएको छ । कोरोना सङ्क्रमणको सन्त्रासका कारण रोकिएको कालोपत्रे बिछाउने काम ८ महिनापछि पुन सुचारु भएको हो ।
पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि मालढुङ्गासम्मको २४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न थालिएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जनाएको छ ।
‘सडक कालोपत्रको काम नयाँपुलबाट सुरु भएको छ । कामदारहरू काममा खटिईसकेको’ कम्पनीका प्रतिनिधि राजाराम आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार जाडो नबढेसम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिछाउने काम सकिने छ । अनुकूल भएसम्म कास्की र पर्वतको सिमानासम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने आचार्यले बताउनुभयो ।
पर्वत खण्डमा पर्ने पतीचौर र कुस्मा बजार भित्र ४ लेन र अन्य खण्डमा दुई लेनमा सडक बिस्तार हुँदै छ । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ । बागलुङको सिमाना मालढुंगादेखि नयाँपुलसम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।
बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अवस्था छ । पर्वत खण्डमा सडक निर्माण कार्य लामो समय सम्म अलपत्र भएपछि व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन समेत गरेर काम थालिएको छ ।
Discussion about this post