बझाङमा निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ३ मजदुर मृत अवस्थामा भेटिएका छन् । स्थानीय टोलीले हाइड्रो पावरको सुरुङमा फसेका उनीहरुलाई उद्धार गर्न नसकेपछि काठमाडौंबाट आएको टोलीले फसेका ४ मध्ये ३ जनाको शव निकालेको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
सुरुङ भित्र मृत अवस्थामा भेटिएका शवको पहिचान हुन सकेको छैन । अझै एक बेपत्ता रहेकाले उनको खोजीकार्यपनि तीव्र भईरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन् ।
सुरुङ सफा गर्न ट्याक्टर सहित टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आईतबार दिउँसोबाटै सम्पर्क विहीन भएका थिए । जसमध्ये तीन जनाको शव सुरुङको झण्डै ९ सय मिटरभित्रबाट निकालिएको छ ।
सुरुमा स्थानीय टोेलीले गरेको उद्धार विफल भएपछि उद्धारका लागि काठमाडौंबाट विज्ञ सहितको टोली हेलिकप्टर मार्फत गएको थियो । सो टोलीले आज सुरुङ भित्र ती जनाको शव भेटाएको हो ।
अहिले ती शवहरु निकाल्ने काम भईरहेको बझाङका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन् । उनीहरुको अक्सीजन अभावका कारण मृत्यु भएको हुनसक्ने उद्धार टोलीले बताएको छ ।
Discussion about this post