लेखनाथ, १८ चैत्र ।
संयुक्त गोर्खा भूतपूर्व सैनिक क्लब, पोखरा–२९ भण्डारढिक, कास्कीको १७ औं वार्षिकोत्सव तथा वडाखाना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रम क्लबका अध्यक्ष डब्ल्यू टि ओ जंगबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको हो । स्वागत मन्तव्य व्यक्त गर्दै उनले सबैको साथ र सहयोगले संस्था अघि बढेको उल्लेख गर्दै संस्थाको हितमा सक्रिय रहन सबैलाई आग्रह गरे ।
उनले नेपालका पेन्सनरहरूलाई पेन्सन सुविधा बाहेक थप सहयोग आवश्यक रहेको औंल्याउँदै कल्याणकारी शाखाको अवधारणा सन् १९६० को दशकमा सुरु भएको जानकारी दिए । उक्त शाखाको उद्देश्य सैनिक तथा उनका परिवारहरूको समग्र कल्याण सुनिश्चित गर्दै जीवनस्तर उकास्नु रहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख चन्द्रञ्जन साहुले भूतपूर्व सैनिकहरूको माया र ममताले नै संस्था अघि बढेको बताए । उनले नेपाली सैनिकले पु¥याएको योगदानप्रति भारतले सधैं सम्मान प्रकट गर्दै आएको उल्लेख गरे ।

साथै, कल्याणकारी शाखाले शैक्षिक छात्रवृत्ति, व्यावसायिक तालिम, वेलफेयर प्लेसमेन्ट सेलमार्फत रोजगारी सहयोग, अपाङ्ग भूतपूर्व सैनिकहरूलाई सहायक उपकरण वितरण, जिल्ला सैनिक बोर्ड, पेन्सन भुक्तानी कार्यालय तथा भारतीय गोर्खा सैनिक निवासमार्फत आवासीय सुविधा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
यसका अतिरिक्त स्कुल बस तथा एम्बुलेन्स वितरण, शैक्षिक संस्थाहरूलाई आर्थिक सहयोग, र विभिन्न सामुदायिक कल्याणकारी परियोजनाहरू सञ्चालन गर्दै भारत–नेपालबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।
पोखरा विश्वविद्यालयका निर्देशक डा. सी.पी. आचार्यले क्लबले गरेका कार्यहरूको प्रशंसा गर्दै विश्वविद्यालय तथा शिक्षण अस्पतालबाट उपलब्ध सेवाहरू लिन सबैलाई आग्रह गरे । उनले विश्वविद्यालयमा ३०० शय्याको सुविधा रहेको जानकारी दिँदै भूतपूर्व सैनिकहरूलाई स्वास्थ्य सेवाको उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार मेजर रामप्रसाद गुरुङ, क्याप्टेन सूर्यबहादुर गुरुङ, अवकाशप्राप्त मेजर बलबहादुर गुरुङ, तुलबहादुर गुरुङ, उपाध्यक्ष मेखबहादुर गुरुङ तथा सचिव बालकृष्ण सुवेदी लगायतले संस्थाको गतिविधिबारे मन्तव्य व्यक्त गरेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव बालकृष्ण सुवेदीले गरेका थिए ।






Discussion about this post