त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज अन्तर्गत सिंगापुरविरुद्धको खेलमा शतक प्रहार गरेका नेपालका कप्तान पारस खड्काको यतिबेला चौतर्फी चर्चा भैरहेको छ ।
क्रिकेट समर्थकमात्र नभइ क्रिकेट बाहिरका व्यक्तिहरुले पनि पारसलाई बधाइ दिइरहेका छन् । साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि पारसका बारमा निकै सकारात्मक समाचारहरु प्रकाशित गरेका छन् ।
भारतको चर्चित पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले पनि पारसलाई राम्रो स्थान दिएको छ । टी–२० क्रिकेटमा शतक प्रहार गर्ने कप्तानको सूचीमा परेको भन्दै पारसलाई भारतका कप्तान विराट कोहली र अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथसँग तुलना गरिएको छ ।
त्यो पत्रिकाले पारस नेपालका लागि टी–२० मा शतक हान्ने पहिलो कप्तान मात्र नभइ लक्ष्य पछ्याउँदा शतक हान्ने पहिलो कप्तान भएको पनि बताएको छ । ४९ बलमा शतक बनाएका पारसले ५२ बलमा अविजित एक सय ६ रन बनाए । यसअघि टी–२० मा पारसको सर्वाधिक स्कोर मलेसियाविरुद्ध अविजित ८६ रन । यो स्कोर नेपाली खेलाडीले टी–२० मा बनाएको व्यक्तिगत उच्च स्कोरसमेत थियो ।
नेपाली टाेलीका कप्तान पारस खड्का लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान बनेका छन् । यसअघि नेदरल्याण्ड्स का पिटर सीलरले स्कटल्याण्डविरुद्ध बनाएको ९६ रन नै लक्ष्य पछ्याउँदाकाे उच्च स्कोर थियो ।
विराट काेहली र स्टिभ स्मिथलाई पनि उछिने
इंग्ल्याण्डविरुद्ध स्टिभ स्मिथले बनाएको ९० रनलाई पनि पारसले उछिनेका छन्, जुन कप्तानका रुपमा उनकाे तेस्रो ठूलो स्कोर थियो ।
यस्तै वेस्ट इण्डिजका क्रिश गेलले अष्ट्रेलियाविरुद्ध बनाएको ८८ रन कप्तानका रुपमा तेस्रो उच्च रन थियो । यो सूचीमा भारतीय कप्तान विराट काेहली आठौँ स्थानमा छन् । उनले कप्तानका रुपमा लक्ष्य पछ्याउँदा ८२ रन बनाएका थिए ।
Discussion about this post