नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले मकवानपुरका दुई विद्यालयका नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । शनिबार भूकम्प प्रभावित विद्यालय मध्ये हाल निर्माण सम्पन्न भएका विद्यालयलाई उनले हस्तान्तरण गरेका हुन् ।
मन्त्री पोखरेलले कैलाश गाऊँपालिकाको कालिका माध्यमिक विद्यालय र हेटौंडाको जनप्रिय माध्यमिक विद्यालयका भवनहरु हस्तान्तरण गरेका हुन् । भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ भवनले मात्रै शिक्षा विकास नहुने हुनाले यसको सदुपयोगबाट शिक्षक, अभिभावक सबैले इमान्दिारिता देखाएमा मात्रै यसको महत्व हुने बताएका छन् ।
उनले हाल नेपालमा ८० प्रतिशत सैद्धान्तिक शिक्ष र २० प्रतिशत मात्रै प्राविधिक शिक्षामा विद्यार्थीहरु रहेकाले अबको समय ८० प्रतिशत प्राविधिक र २० प्रतिशत मात्रै सैद्धान्तिक शिक्षामा जोड दिन आग्रह गरेका छन् । प्रविधिक शिक्षा भएमा बेरोजगारीको संख्या स्वतः घटेर जाने उनको भनाइ रहेको थियो ।
आज हस्तान्तरण भएका विद्यालयमध्ये कालिका माध्यमिक विद्यालयको भवन जापान सरकारको ऋण सहयोगमा १२ कोठे २ वटा भवन करीब ३ करोड ८१ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनमा प्राविधिक विषयको अध्यापन गराइने विद्यालयले जनाएको छ ।
त्यस्तै हेटौंडाको जनप्रिय माध्यमिक विद्यालयका ४८ कक्षा कोठासहित चमेना गृह, शौचालय, छात्राबास सहितका ६ वटा भवन निर्माण भएका छन् । यस विद्यालयमा कृषि, पशु, तथा बाली बिज्ञानका विषयहरु अध्यापन गराइने जनाइएको छ । यसका लागि जापान सरकारको करीब १३ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको जनाइएको छ ।
कार्यक्रमहरुमा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, प्रतिनिधि सभाका सदस्यहरु विरोध खतिवडा, कृष्ण दाहाल, प्रदेश सभा सदस्यहरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ, ओम घलान लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post