लेखनाथ, १४ असार ।
पोखरा महानगरपालिका–२९ स्थित जनप्रकाश माध्यमिक विद्यालयले अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको आयोजनामा लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा शनिवार एक कार्यक्रम विच सम्पन्न भएको हो ।
कार्यक्रमको आर्थिक सहयोग वडा नं २९ वडा कार्यालयले गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदीको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ थिए ।
कार्यक्रममा कास्की शिक्षामहाशाखाका वरिष्ठ अधिकृत बद्रिनाथ सुवेदी, पि.एन. क्याम्पसका प्राध्यापक प्रेम नारायण पोख्रेल र माछापुच्छ्रे माविका प्रमुख सन्तोष आचार्यले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका संयोजक गोपीराज अधिकारीले स्वागत मन्तव्य दिएका थिए ।
प्रशिक्षणका क्रममा अभिभावक शिक्षा कार्यक्रमले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको थियो। प्रशिक्षकहरूका अनुसार, बालबालिकाका पहिलो शिक्षक अभिभावक नै हुन्। उनीहरूलाई जिम्मेवार, संवेदनशील र जानकार बनाउनु शिक्षा प्रणालीको एउटा महत्वपूर्ण पाटो हो ।
साथै, सामुदायिक विद्यालय रूपान्तरणका लागि अभिभावकको सक्रियता अपरिहार्य रहेको भन्दै समुहगत प्रयासमार्फत मात्र गुणस्तरीय शिक्षा दिन सकिनेमा जोड दिइयो ।
शिक्षा भनेको केवल किताबी ज्ञान नभई जीवनसँग सम्बन्धित व्यवहार र अनुभूतिमा आधारित हुनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो । कार्यक्रममा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रम उपयोगी र ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका छन् ।






Discussion about this post