लेखनाथ ४ भदौ । पोखरा महानगरपालिका वडा नं–२६ को बुढिवजार स्थीत सक्नेरीमा साउनको १४ देखि २३ गतेसम्म संचालन भएको शिव पुराण ज्ञान महायज्ञमा ७२ लाख ७६ हजार एक सय ९७ रुपियाँ आर्थीक सहयोग संकलन भएको छ ।
धर्मको रक्षा गरौं संस्कृतिको जर्गेना गरौं भन्ने मुल नाराका साथ लोक सांस्कृतीक संरक्षण समिति र उज्ज्वल आमा समुहको संयुक्त आयोजना र विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको महायज्ञमा खर्च १३ लाख तिन हजार पाँच सय ३० खर्च भई ५७ लाख ९९ हजार बचत भएको आयोजक समितिका कोषाध्यक्ष राममणि बरालले जानकारी दिएका छन् ।
आयोजक समितिले शनिवार एक कार्यक्रम गरि महायज्ञको आय ब्यय सार्वजनीक गरेको हो । कार्यक्रममा आयोजक संस्थाका संयोजक जगन्नाथ तिमिल्सेनाले महायज्ञमा लक्ष्य भन्दा बढिको सहयोग संकलन भएकाले महायज्ञमा सवैको साथ र सहयोगले उच्च सफलता हात पारेको बताएका थिए ।
महायज्ञबाट संकलित रकमबाट बैद्धिक सनातन धर्म र सस्कृतीको रक्षार्थ समस्त पितृ उद्धार, राष्ट्र कल्याण, बहुउदेश्यीय सामाजिक भवनको समयानुकुल स्तरोन्नती, जेष्ठ नागरिक दिवा सेवालाई थप ब्यवस्थीत रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना एवंम लोक संस्कृती संरक्षण संग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा प्रमुख वाचक दिगदर्शन वाचन शिरोमणि दीपक सापकोटाले पछिल्लो समय धर्मका नाम गरिने जुन सुकै काममा पनि जनसहभागीता बढ्ने गरेकाले धर्म प्रति सवैको चासो र विश्वास बढदै गएको बताएका थिए ।
आयोजक समितिकी सह संयोजक सरस्वती गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव तारा शर्मा ढकालले गरेकी थिईन । सोही अवसरमा महायज्ञमा अवधिभर विभिन्न समिति तथा उप समितिमा वसेर काम गर्नेलाई सम्मान गरिएको थियो ।
यसैबिच शनिवार सोही कार्यक्रममा लोक सांस्कृतीक संरक्षण समितिको ११ औ बार्षिक साधारण सभा सम्पन्न गरि महिला दिदी बहिनीहरुका लागि तिज विशेषको कार्यक्रम पनि गरिएको थियो ।
Discussion about this post