हरि खरेल / दमौली । नेपाललाई कृषि प्रधान राष्ट्रिको रुपमा लिईएता पनि वर्तमान समयमा आउदा कृषि पेशा गर्ने मानिसको बाहुल्यता भने कमै देख्न सकिन्छ । विगतका बर्षहरुमा तनहुँमा खेती हुदै गरेका जमिन बर्तमान समयसम्म आउदा बाँझो रहेको अवस्थामा देख्न सकिन्छ ।
पोषिलो तथा औषधीय गुणयुक्त खेतीको रुपमा पाखा जमिनमा रोपिने कोदो खेती गर्ने किसानहरु कम हुदै गएको कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीको अनुभव छ ।
विभिन्न रोगका औषधीका रुपमा प्रयोग हुने कोदोको माग बजारमा अत्याधिक रहेको भएता पनि उत्पादन भने घट्दै जान थालेको उहाँले बताउनुभयो । मानिसहरुले अहिले कोदोको रोटि, डिढो लगायतका परिकारहरुमा रुचि राख्दै आएता पनि तनहुँमा कोदो उत्पादनमा भने ह्रास आएको तिवारीले जानकारी दिनुभयो ।
जिल्लाभित्र ६ हजार हेक्टर क्षेत्रफलकोे खेतीयोग्य जमीनमा ६६ सय मेट्रिकटन कोदो उत्पादन हुदै आए पनि अहिले पाँच सय हेक्टरमा मात्र कोदो खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । “मानिसहरु बसाई सरेर शहरतिर आए ,त्यसैले गाउँमा युवा तथा कृषकहरुको संख्या कम हुदै जाँदा कोदो खेती कम भएको छ, तर पनि यसको माग भने अत्याधिक मात्रामा रहेको छ ।”तिवारीले भन्नुभयो ।
जिल्लाको भानुमति, ऋषिङ, घिरिङ, बन्दिपुर, देबघाट, शुक्लागण्डकी लगायतका स्थानीय तहहरुमा कोदो खेति हुदै आएको तिवारीले बताउनुभयो । उहाँले समय र परिस्थितिले मानिसहरु शहर केन्द्रित भएसंगै खेति कम भएको जानकारी दिनुभयो । “पहिले कोदो खेति हुदै आएका पाखाहरुमा चिलाउने, सिट्ठो, कटुस लगायतका विरुवाहरुले ढाकेको छ ।”उहाले भन्नुभयो, “यदि किसानहरुले खेति गर्छु भनेको खण्डमा सहयोग तथा पहल गर्नपर्ने कुरामा ज्ञान केन्द्र तयार छ ।”
ज्ञान केन्द्रले किसानहरुलाई कृषि पेशामा अग्रसर बनाउनका लागि “कलष्टरमा रैथाने बारी कार्यक्रम” सुरु गर्न लागेको बताउनुभयो । उक्त कार्यक्रम मार्फत बाँझो रहेका खेतियोग्य जमिनलाई सदुपयोगमा ल्याउने योजना रहेको बताउनुभयो । कोदो खेती आफैमा पनि गाह्रो खेतिको रुपमा परिचित रहेको साथै उत्पादन पछि पनि कोदो झाट्न निकै कठिन हुने तिवारीले जानकारी दिनुभयो । ज्ञान केनद्रले कोदो झाट्न विभिन्न यन्त्र उपकरणहरुको व्यवस्था गर्ने तयारी गरिरहेको उहाँले जनाउनुभयो ।
Discussion about this post