दुलेगौडा । तनहुँ जलविद्युत आयोजनाले तनहुँ जिल्लालाई एक वर्षभित्र अन्धकारमुक्त बनाउने लक्ष्य लिएको थियो । उक्त लक्ष्यका साथ आयोजनाले विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाएको छ । एक सय ४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य थालिएको छ ।
ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाबाट जिल्लाको साविक १७ वटा गाउँ विकास समिति प्रभावित भएका छन् । प्रभावित भएका क्षेत्रमा बिजुली विस्तारका कार्य भइरहेको आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना (तनहुँ विद्युतीकरण आयोजना)का साइट इन्चार्ज लक्ष्मण रेग्मीले बताउनुभयो । सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित भएका घरपरिवारलाई पहिलो स्थानमा राखेर विकास निर्माण कार्य भइरहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।
आयोजनाबाट प्रभावित झण्डै सात हजार घरधुरीका बासिन्दा अन्धकारमा जीवन बिताउन बाध्य रहेका छन् । “विद्युत् विस्तार कार्यका लागि डेढ वर्षे आयोजना शुरु भए पनि बाढीपहिरो र कोरोनाका कारण सोचेअनुरुप प्रगति गर्न नसकिएको हो । पुनः छ महिना म्याद थप गरी आयोजनाको कार्य शुरु गरिएको छ ।” उहाँले भन्नुभयो, “सेती नदीको दक्षिण र काली नदीको उत्तर क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ ।”
जिल्लाको घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटारका स्थानियशरु अझ पनि अन्धकार जीवन जिउन बाध्य रहेका छन् । सबस्टेशन जडानका लागि आवश्यक पर्ने उपकरण करिब ८० प्रतिशत आइसकेको र तारहरू आउन बाँकी रहेको रहेको छ । विद्युत सञ्चालनका लागि उक्त क्षेत्रमा भने तिब्र रुपमा काम भईरहेकोे रेग्मीले जानकारी दिनुभयो ।
जिल्लाको १० वटा स्थानीय तहरुमा विद्युत् पुगेको भए पनि भित्री क्षेत्रमा छरिएर रहेको बस्तीमा विद्युत् पु¥याउन नसकिएको प्राधिकरणका सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले बताउनुभयो । हाल उक्त क्षेत्रहरुलाई प्राथमिकतामा राखेर विद्युतीकरणको कामलाई निरन्तरता दिईएको छ । ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली विस्तारका लागि विद्युतपोल गाड्ने, लाइन विस्तार र सबस्टेशन निर्माण लगायतका काम दु्रतगतिमा अघि बढाइएको बताउनुभयो । हालसम्म तनहुँ जिल्लाभित्र प्राधिकरणले करिब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पु¥याईसकेको आयोजनाले जनाएको छ ।
Discussion about this post