एक सय चार वर्षको एक तन्त्रीय (जहानिया) राणा शासनको अन्त्य गरेर २००७ सालमा प्रजातन्त्रको उदय भए पनि नेपालीहरुले निरंकुश पञ्चायती व्यवस्थामै मढारिनुप¥यो । २०३८ सालमा सुधारिएको पञ्चायती व्यवस्था लागू गरियो मात्र । के–के न पाइएला भनी रगतको खोलो बगाएर आन्दोलन गर्नेचाहिँ मृत्युलाई अँगाल्न पुगे, कसैलाई चाहिँ ‘हिस्स बूढी खिस्स दाँत’ बनाइदिए । आदेश दिनेचाहिँ मोजमस्तीमै रुमलिँदै छन् ।
२०४६ सालमा राजा वीरेन्द्रले बहुदलीय प्रजातन्त्र यिनै नेताको हातमा सुम्पिदिए । यिनका हातमा सुम्पिएपछि बहुदलीय व्यवस्थाको झन् धज्जी उडाइयो । भनिन्छ, राम्रो मान्छे भगवान्को प्यारो हुन्छ भन्थे । त्यही भएर होला २०५८ साल जेठ १९ गते आफ्ना सन्तान आफैंसँगै लिएर यस धर्तीबाट अन्तध्र्यान भए ।
अझै पनि नेपाली जनताले राजा वीरेन्द्रका सन्तानलाई बिर्सिन सकेका छैनन् । तत्कालीन राजा ज्ञानेन्द्र त भए तर जनताले अर्थशास्त्रको सिद्धान्तअनुसार एकपछि अर्को आवश्यकता खोज्दै जाँदा २०६२ साल चैत २४ गते हिंसात्मक आन्दोलन गरिरहेका माओवादीलाई समेत समावेश गरी दोस्रो जनआन्दोन शुरु गरे र १९ दिनमै २०६३ साल वैशाख ११ गते राज्यको निरंकुश अधिकार ढल्यो । करिब अढाइ सय वर्षको राजतन्त्र समाप्त गरी गणतन्त्रको जग बस्यो र वैशाख ११ गते जनताको अधिकार यिनै जनप्रतिनिधिहरुको हातमा सुम्पेर राजा ज्ञानेन्द्रले निरंकुश राजतन्त्र शासन त्याग्न बाध्य भए ।
तर अहिले गणतन्त्र भनेको के हो भनेर यिनै नेतालाई सोध्नुपर्ने अवस्था छ । जति आन्दोलन गरे पनि, जति बलिदान दिए पनि, राजनीति स्थिरता कायम हुन सकेन । बरु तासको पत्ता फेरिएझैँ हरेक वर्ष नेता परिवर्तन भए, मान्छे परिवर्तन भए तर सोच परिवर्तन भएन । वर्षौंदेखि पुराना चेहरामा देश रुमल्लिइरह्यो ।
अब त देशमा सुधारका लागि नेताहरूको घैँटोमा घाम लाग्ला भनेको त झन्–झन् बुद्धि भ्रष्ट पो हुँदै गयो । चुनावमा गरिएका बाचाहरु चप्पल लगाएर भोट माग्नेहरु राजधानी छिरेर सरर चिल्ला गाडीमा चढेपछि सब बिर्सिंदा भए । युवाजति खाडीमा, नेताजति चिल्ला गाडीमा भनेर मन दुखाउनुसिबाय केही छैन । चिल्ला गाडीमा चढेर पाँचतारे होटलमा सेमिनार–गोष्ठी गर्र्दै, देशको ढुकुटी रित्याउँदै, विदेश भ्रमण गर्र्दैमा देश परिवर्तन हुँदैन ?
देश अहिले पनि पुरानै पिँढीमा अडिरह्यो । बाजेका पालामा पनि यिनै नेता, बाउका पालामा नि यिनै, मेरा पालामा नि यिनै, छोरानातिका पालामा नि यिनै ! कस्तो जन्मिदै भावीले लेखेर ल्याएछ, जहिले पनि सत्तामा पौडी खेल्ने ।
जबसम्म नयाँ सोच, नयाँ ढंग र नयाँ विचारका साथ भ्रष्टाचारमुक्त सोचको विकाससहित नयाँ युवापुस्तामा सत्ता हस्तान्तरण हुँदैन तबसम्म देशमा आमूल परिवर्तन आउँदैन । जनता भनेको चुनावका भोटर मात्र हुन् भन्ने सम्झिने नेताहरू चुनाव जितेर गएपछि मेमोरी पावर लस हुन्छ कि क्या हो ? जनता नै चिन्दैनन् ।
काठमाडौं शहरको संसद् भवन छिरेपछि तिनका पीए, तिनका सुरक्षाकर्मी पो ठूला, भेट्नु त के फोन नै उठ्दैन । पीएले पो फोन उठाएर उहाँ व्यस्त हुनुहुन्छ, मलाई भन्नुस भन्छन् । चुनावमा भोट माग्न आउँदा हामीले कहिल्यै फुर्सद छैन भन्यौं ? अझै उल्टै तिनीहरूलाई खुवाएरै पठाउँथ्यौं तर चुनाव जितेपछि उनीहरु बेफुर्सदिला भए ।
यी जनता जनार्दन पनि कम छैनन् । जति रिस उठे पनि फेरि अर्को चुनाव आएपछि एकथाल मासु र भातमा उही पुरानै पार्र्टी जिन्दावाद भन्नेले गर्दा आज नेपालमा सामन्तवादले शासन गर्न छोडेनन् । भ्रष्टाचार गर्र्ने, बलात्कारी, चोरी, डकैतीलाई ढाकछोप गर्ने, सोझा जनता दबाउने, आफन्तलाई मात्र काखी च्याप्ने सरकार के सरकार ?
जोसुकै होस् न, कानुनको दायरामा ल्याउन सक्नुपर्छ । कानुन सबैमा समानुपातिक हुनुपर्छ नातावाद, कृपावाद छोड्नुपर्छ अनि मात्र देश बन्छ । नेपाल एउटा भूपरिवेष्टित देश हो भनेर पढेका थियौँ । तर यस्तो देशमा सांसदको दायरा ठूलो, मन्त्रिमण्डलको दायरा ठूलो बनाउन के जरुरी थियो ? २७५ प्रतिनिधिसभाका संसद र ६० जना राष्ट्रिय सभाका सांसद बनाउनु के जरुरी छ ? यसलाइ कम गरेर सुविधाहरुलाई घटाउँदै जनतामा केन्द्रित हुन जरुरी छ । घाँटी हेरेर हाड निल्नुपर्छ ।
यो मियोविनाको दाइँ कहिलेसम्म हेर्ने हो ? गाँस, बास, कपास भन्ने शब्दमा मात्र सीमित रह्यो । जनता सडकमै रात बिताउन बाध्य छन् । सरकार त्यसलाइ देखे पनि नदेखेझैँ गरेर हिँड्नमै खुशी छ । खोइ हाम्रो शिक्षा ? खोइ हाम्रो स्वास्थ्य ? खोइ हाम्रो रोजगार ? सरकार तिमी त छौ ?
सरकारका आफन्तलाई खाएर डकार्नै पुगेको छैन । यिनीहरूको आफन्तको भागवण्डामा रुमलिँदारुमलिँदै देश स्वाहा हुने भो । अब त उठ जनता, उठ जनता, अति भो ! चुप बस्दा क्षति भो ! अब आमनागरिकप्रति प्रतिबद्ध, सुशासन अँगाल्न सक्ने र सामूहिकतामा विश्वास गर्ने युवा, जसले नागरिक स्वतन्त्रतालाई आत्मसात् गरी राज्यको नागरिकप्रतिको भूमिका निर्वाह गर्न सकोस् ।
ठूलालाई चैन र सानालाई ऐन, कहिलेसम्म कुर्दै बस्ने हो ? जनताको आशालाई सधैँ निराशामा धकेल्ने न्याय आफ्नो मठीभित्र कैद गर्ने नेता पनि नेता हुन् र ? यिनीहरूले न जनता बनाउँछन् न त देश नै ? यी आफैं मात्र बन्छन् र भुँडी नफुन्टुन्जेलसम्म बिटो कुम्ल्याएर, सबैतिर कोचेर मोटाउने काम गर्छन् ।
अबको बुलन्द आवाज भनेकै देशभरिका युवाहरुबाट नेतृत्व लिनै पर्छ । अनि मात्र देशका जनता र देश बन्छ । आशा गरौं, देश बनाउने जिम्मा पनि हाम्रै काँधमा पो आइपर्ने हो कि ? (लेखक किस्ट मेडिकल कलेजका स्वास्थ्यकर्मी हुनुहुन्छ ।)
Discussion about this post