अशोक विश्वकर्मा, खैरेनीटार । सेतै फुलेका दारी–कपाल, बुढ्यौलीले कुप्रिएको तर फुर्तिलो शरीर र हँसिलो अनुहारका ६६ वर्षीया डोरप्रसाद खत्रीले कान सुन्न छोडिसकेका छन् ।
३ वटा बाख्रालाई परिवारकै सदस्य मानेका उनले त्यही बाख्रासँग दिन मात्र हैन रात समेत कटाउन थालेको वर्षाै भइसकेको छ । अझ यस्तो भनौं, शुक्लागण्डकी नगरपालिका ७ मालेबगरका खत्रीले जीवन धान्नकै लागि चरम दुखको सामाना गरिरहेका छन् ।
जीवनको उत्तरार्धमा आफ्नै पसिनामा दुई छाकको जोहो गर्न उनले ३ बाख्रा पालेका छन् । बाख्रा पालेर न्यून आम्दानी गर्ने खत्रीसँग मुस्किलले केही जोर पुराना कपडा, पकाउने भाडा र सुत्ने खाट छ । बाख्राको भत्किएको खोरकै एक छेउमा अत्यास लाग्ने उनको बसाई त्यहाँ पुग्नेलाई मन भक्कानिने प्रकृतिको छ ।
माथिबाट पानी नथेग्ने, छेउछाउबाट हावा बहने छाप्रोको छेउमा रहेको भत्किएको चुल्होमा कहिले पनि धुवाँ उडेका नदेखेको छिमेकी सुसन पौडेल बताउँछन् । दैनिक खिचडी पकाएर खाने गरेको बताउने खत्रीसँग सन्तानप्रतिको माया भने मरिसकेको छ ।
सन्तान सम्झदै विगतमा फर्किएका उनलाई उमेर छदै दोस्रो बिहे नगरेकोमा ठुलो पछुतो छ । ‘२९ वर्षको छदाँ कान्छो १ महिनाको थियो, ठुलो वर्ष दिनको ।’ उनले सम्झिदै भने, ‘अहिले दुइटै छैनन्, नातिनीले हेर्छेकी भन्ने आशा लाउँछ ।’
ठुलो छोरा रामबहादुर आफ्नै ससुराली तिर घरजम गरेर बसे पनि जन्म दिने बुवालाई परिवारको सदस्य सम्झेनन् । वैदेशिक रोजगारीमा छ भन्ने सुनेका डोरप्रसादले छोरा कस्तो भएको छ देख्न समेत पाएका छैनन् ।
कान्छी बुहारीको जोडबलमा तनहुँकै शुक्लागण्डकी नगरपालिका १० छाब्दी भक्कलमा साहाराविहीन दिन बिताउँदै गर्दा कान्छा छोरा लक्ष्मणले मालेबगर ल्याएका थिए । लक्ष्मण पनि दोस्रो बिहे गरेर बेपत्ता भएपछि खत्रीको बाँच्ने आधार भाँसिदै गए ।
बेखर बनेका छोराकै कारण बुहारी नातिनातिना सहित अर्कैसँग बिहे गर्न बाध्य भएपश्चात उनका पुराना दिनहरुले फेरि घेर्न थाले । पाखुरामा बल भइन्जेल जसोतसो दिनहरु कटाए पनि पछिका दिनमा गाह्रो महसुस गरेका उनलाई अर्कैसँग गएकी बुहारीको साहारा दिने ढाडस नकार्न सकेनन् ।
बुहारीसँगै अर्कैको जहानमा मिसिएर केही समय बिताएका उनी पछिल्लो दिनमा फेरि एक्लिएका छन् । गाह्रो साह्रो पर्दा बुहारीको साहारा पाएका खत्री छिमेकीहरुको घर–घरमा गएर विगत सम्झदै आँसु बगाउने गर्छन् ।
चुडिसकेको साइनोको मसिनो त्यान्द्रो समाएर खुसी हुन खोज्ने डोरप्रसादलाई कोही खोज्दै गएमात्र पनि आफ्नो सम्झेर खुसी हुने गर्छन् । आफूले जन्माएका २ छोरा आफूलाई खोज्दै टुप्लुक्कै आइपुग्छन् कि भन्ने झिनो आशा भने उनमा अझै बाँकी नै छ । त्यसैले उनी आफ्नो छोराछोरी आउने पर्खाईमा बाटो हेरेर दिन बिताइरहेका छन् ।
यो पनि पढ्नुहोस् :
Discussion about this post