अशोक विश्वकर्मा, खैरेनीटार । पृथ्वीराजमार्गमा गुड्ने व्यस्त सवारी चाप र छेउछाउको गगनचुम्बी महलबीच शुक्लागण्डकी नगरपालिका ७ मालेबगरको एकछेउमा मन रुवाउने कथा छ ।
कथाका पात्र हुन ६६ वर्षीय डोरप्रसाद खत्री र सहायक पात्र सुस्मा । कलिलो उमेरमा बिहे गरि जायजन्म र गृहस्थी धानेकी सुस्मा ५ वर्ष अघिसम्म डोरप्रसादकी कान्छी बुहारी थिइन् ।
दुख सुख गृहस्थी चलेकै थियो । बिहे गरेको ११ वर्षपछि सुस्मालाई लक्ष्मण (डोरप्रसादका छोरा) ले धोका दिए अर्थात्, दोस्रो बिहे गरेर बेपत्ता भए ।
उनकै पर्खाईमा सुस्माले लालाबाला स्याहारेर नबसेकी पनि होइनन्, तर लक्ष्मणको आउने बाटो दिनानुदिन धुमिल बन्दै गए । बेसहारा बनेकी सुस्माले पनि आफन्त र अभिभावकको सहमतिमा दोस्रो बिहे गरिन् ।
फेरि नयाँ घरजम भयो । तर बाध्यतामा गरेको बिहेले उनलाई बेहदको खुसी भने दिन सकेन । दोस्रो बिहे गरेर लक्ष्मणको घर र सत् छोडे पनि उनको सम्बन्धको अमिट छाप २ छोरी र १ छोरा भने छोड्नै सकिनन् ।
बिहे गरेर दिन वर्ष बित्न थाले पनि फेरी पुरानो साइनोको एक त्यान्द्रोले सुस्मालाई तानिरह्यो ससुराबुवा डोरप्रसाद । बुढेसकालसँगै हातगोडा कमजोर बनेका लक्ष्मणका बुवा डोरप्रसादको दुःख सुन्न र हेर्न सुस्मालाई गाह्रो भयो ।
परिवारलाई सम्झाई बुझाई फेरि लक्ष्मणका बुवाको सहारा हेरचाह गर्न थालिन्, उनले आफ्नै घरमा ल्याएर राखिन् पनि । डोरप्रसाद केही समयसंगै बसे पनि समय बित्दै जादाँ एक परिवार भएर बस्न सकेनन् र सुस्माकै सहमतिमा नजिक छाप्रोमा बस्न थाले ।
चर्काे बिरामी पर्दा, लत्ता कपडा फाट्दा र मिठोमसिनो पाक्दा सुस्माले नै डोरमणीको हेरचाह गर्दै आएपनि बेपत्ता कान्छा छोराले कहिल्यै बुवा सम्झेर फर्किएनन् ।
जेठा छोरा आफ्नै परिवारको खुसी खोज्दै गर्दा बुवाको आसुँ र दुख देख्नै नसक्ने गरि दृष्टीविहीन बने । उनी ससुराली तिरै घरजम गरेर बसेपनि बुवालाई कहिले याद गरेको सुस्मालाई सम्झना छैन । बुवाको अवस्था बताउन समेत कुनै माध्यम नभएको उनले गुनासो गरिन् ।
डेरामा बस्दै आएकी सुस्मा अब आफ्नै बासस्थान बनाउने तयारीमा छन् । ‘बुवालाई पनि उतै लैजानुपर्ला नि, अरु को नै छ र म बाहेक’ उनले भनिन् ।
२९ वर्षको उमेरमा सँगै जीवन बिताउने कसम खाएकी पत्नीले सदाको लागि छोडेपछि पत्नी वियोगसँगै २ छोराको संरक्षणमा दिन बिताएका डोरप्रसाद अहिले बाख्रासँगै एक छेउमा छाप्रो मुनि ज्यान सुरक्षित गराउन बाध्य छन् । अत्यन्त पिडादायी जीवन गुजारिरहेका डोरप्रसादका लागि सुस्मा साहारा बनेपनि पर्याप्त छैन । उनको बासस्थान र संघर्षका किस्सा जो कोहीका लागि मन रुवाउने फिल्म भन्दा कम छैन ।
Discussion about this post