पोखरा । मिस नेवाः पोखरा ११०४ मा आइतबार अडिसनबाट २५ प्रतिष्पर्धी छानिएका छन् ।
छनोटमा परेकालाई माघ १७ देखि २८ दिनसम्म विभिन्न प्रकारको तालिम दिई अन्तिम प्रतिष्पर्धामा उतारिने प्रतियोगिता संयोजक विमल श्रेष्ठले बताए ।
नेवाः खल कास्कीले आयोजना गरेको सो प्रतियोगितामा १६ देखि २३ वर्षका युवती सहभागी छन् । उनीहरुलाई नेवारी भाषा, सांस्कृतिक, नाच, संगीत, नेवारी सभ्यताका साथै व्याक्तित्व र नेतृत्व विकासबारे सहजीकरण गरिने छ ।
नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले यो प्रतियोगिता सुन्दरी प्रतियोगिता नभई भाषा, संस्कृति जोगाउने अभियान भएको दाबी गरे । उनले भने, ‘विश्वव्यापीकरण र प्रविधिको विकाससँगै हाम्रो संस्कार, संस्कृतिमा पनि केही चुनौती थपिएका छन् तर हामीले हाम्रो संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’
उपाधि विजेताले ४० हजार, फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः २५ र १५ हजार पाउनेछन् । यस्तै, विभिन्न टाइटल विजेतालाई पनि पुरस्कार व्यवस्था छ । उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्यूअर्स च्वाइस, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, वेस्ट फे्रन्डली, बेस्ट स्माइल र फोटोजेनिकलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ग्राण्ड फिनाले ८ चैतमा पोखरा सभागृहमा हुनेछ ।
Discussion about this post