सल्यानमा पहिरोले रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको सदरमुकाम खलंगा आउने लाइनमा बुधबार राति वर्षासँगै आएको पहिरोले रुख ढल्दा सेवा अवरुद्ध भएको हो । श्रीनगरमा रहेको सबस्टेशनदेखि खलंगा आउने लाइनको दुई किलोमिटर अगाडि भिरमा पहिरोले २ वटा सल्लाका रुख ढाल्दा विद्युतको तार चुडिएर सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ । जसका कारण करीब एक किलोमिटरको दुरीमा रहेका ५ वटा पोलका तार चुँडिएका छन् ।
रुख पन्छ्याएर लाइन सुचारु गर्न आज बिहानैदेखि काममा खटिएपनि अहिलेसम्म सुचारु हुन नसकेको प्राधिकरणका सुपरभाइजर राजु अधिकारीले न्युज २४ लाई बताए । उनका अनुसार अहिलेसम्म रुख पन्छ्याएर २ वटा पोलको तार जडान गरिसकेको र अब ३ वटा पोलको काम बाँकी रहेको छ ।
भिरको ठाउँ भएकोले काम गर्न मुस्किल भएको उनले बताए । राति अबेरसम्म काम सम्पन्न हुनेगरी लागिपरेको उनको भनाइ छ । यो क्षेत्रमा लाइन अवरुद्ध भएपछि सदरमुकाम खलंगा सँगै शारदा नगरपालिकाका ७ वटा वडा र बनगाड कुपिण्डे नगरपालिकाका २ वटा वडाका सेवाग्राही बिहानैदेखि मारमा परेका छन् ।
Discussion about this post