३१ भदौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मंगलबार बक्सिङमा ८ सहित जम्मा १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो ।
यसअघि सोमबार पनि पुरुषमा ५ र महिला ३ खेलाडीको छनोट हुँदा मंगलबार पनि पुरुषमा ५ र महिलामा ३ खेलाडीले १३ औं सागको यात्रा तय गरेका हुन् । मंगलबार भएको पुरुषतर्पm ४९ केजीमा आर्मीका सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६९ केजीमा एपिएफका विकास लामा छनोट भए । फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई अंकका आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई ५–० ले र्नै स्तब्ध बनाएका थिए । विकासले भने फाइनलमा प्रदेश–३ का मनिष डंगोललाई ४–१ ले निराश बनाए ।
पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए । दीपकले फाइनलमा प्रदेश–३ का भूमीलाल दिवसलाई ५–० ले पराजित गरेका थिए । मनोहरले आर्मीका गणेश प्रधानमाथी ३–२ को कठिन जित निकाले । महिलातर्फको ५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० ले हराउँदा ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई ५–० ले निराश पारिन् ।
६४ केजीमा आर्मीकी पुनम रावलले कठिन जित निकाल्दै छनोट भईन् । उनले फाइनलमा एपिएफकी विनिता थापामगरलाई अंकको आधारमा ३–२ ले स्तब्ध बनाइन् । यसअघि सोमबार पुरुषतर्पm ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भुपेन्द्र थापा, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए । महिलातर्पm भने ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका थिए ।
१३ औं सागका लागि छनोट हुन सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले खेलाडीलाई प्रोत्साहनका लागि बधाई मन्तब्य राखेका थिए ।
Discussion about this post