पोखरा, २१ चैत्र । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।
मानव अधिकारमा आधारित ज्ञान र दृष्टिकोणको ज्ञान र व्यवहारिक प्रयोगमा सक्षम बनाउने उद्धेश्यले चैत्र २० र २१ गते गरि दुई दिनसम्म आयोजित तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट मानव अधिकार रक्षकहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
तलिममा नेपालको मानव अधिकार रक्षक, अवधारणा, अवसर र चुनौती विषयमा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौलाले, समग्र मानव अधिकार तथा आर्थीक, सामाजिक र साँस्कृतिक अधिकार सहित विवेचना एवं मानव अधिकार तथ्य संकलन सिप विषयमा ईन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले, जातीय विभेद, लैंगिक हिंसा विरुद्धका कानुनी प्रणाली र यसका पक्षहरुका विषयमा अधिवक्ता कुञ्जनी परियारले सहजिकरण गरेका थिए ।
यस्तै बाल अधिकारको संरक्षण सन्दर्भमा बाद अधिकार समुह र मानव अधिकार रक्षकहरुको भुमिकाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत टंक खनालले, नेतृत्व विकास, समस्या पहिचान र सरोकारवालाको नक्साड्ढन र मानव अधिकार रक्षकहरुको भुमिकाका विषयमा पत्रकार दिपेन्द्र श्रेष्ठ, वर्तमान मानव अधिकारका सवाल, उल्लंघन र ज्यादती बारेमा अवधारणागत परिचय, कार्ययोजना निर्माण तथा प्रतिवद्धताका विषयमा ईन्सेक गण्डकी प्रदेश प्रलेख अधिकृत मंगिता नेपालीले सहजीकरण गरेका थिए ।
तालिमको गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबार उद्घाटन गर्दै शिक्षित व्यक्तिहरूबाट समेत जातीय विभेद कायम रहनु दुःखद विषय भएको उल्लेख गर्दै यस्ता विभेद अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए ।
शनिबार तालिमको समापन गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार रक्षकहरूलाई समुदायस्तरमा मानव अधिकार संरक्षण र सामाजिक न्याय प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्न तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
भण्डारीले मानव अधिकार रक्षकहरू सुरक्षा चुनौतीका बीच कार्य गरिरहेको बताउँदै उनीहरूको सुरक्षा र संरक्षण अपरिहार्य रहेको उल्लेख गरेका थिए । मानव अधिकार रक्षकको सुरक्षा र पहिचानका लागि छुट्टै कानुन आवश्यक रहेको भन्दै प्रदेश सरकार समक्ष विधेयक पेश गरिएको पनि वताएका थिए ।
मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुंगानाले जोखिमका बाबजुद मानव अधिकार रक्षकहरूले पीडितको पक्षमा खेलेको भूमिकाको चर्चा गर्दै मानव अधिकार रक्षकहरूको सुरक्षा र सशक्तीकरण राज्यको दायित्व भएको स्पष्ट पारेका थिए ।
सहभागीहरुको तर्फबाट बोल्दै राजन रिमाल र प्रेमकुमारी अधिकारीले लैङ्गिक हिंसा तथा महिलाविरुद्ध हुने हिंसासम्बन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय र कानुनी मापदण्डबारे सहजीकरण गर्दै मानव अधिकार रक्षकहरूको भूमिकालाई अझ संवेदनशील र सशक्त बनाउन इन्सेकले आयोजना गरेको यो तालिम महत्वपूर्ण रहेको बताएका थिए ।
यस्तै नव युवाहरुको तर्फबाट बोल्दै सुवेक पाण्डेले डिजिटल भ्वाइलेन्स र बाल–यौन दुव्र्यवहार वढिरहेको वताउँदै विधिको शासन बलियो नहुनु प्रमुख चुनौती भएको बताएका थिए ।
मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत एवं कार्यक्रमको उद्धेश्यमा बारेमा सह–संयोजक जुना केसी र सञ्चालन सचिव सावित्रि घिमिरेले गरेकी थिईन ।






Discussion about this post