लेखनाथ, २ माघ । पोखरा महानगरपालिका वडा नं. ३२, राजाको चौतारा स्थित ब्रह्मरूपा माध्यमिक विद्यालयको ४६औँ वार्षिकोत्सव तथा ६५औँ अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह विभिन्न सांस्कृतिक कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रमको उद्घघाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले प्रविधिमा आधारित सीप विकासमार्फत रोजगार वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले नयाँ प्रविधि विकास, व्यापार–व्यवसाय, कृषि लगायतका क्षेत्रमा नवप्रवर्तन गरी विश्वविद्यालयसँग सहकार्य गर्दै अघि बढ्न आग्रह गरे। समुदायमार्फत शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउँदै नेपालमै टिक्ने तथा टिकाउने रोजगारमूलक प्राविधिक, नागरिक र सङ्गीतिक शिक्षा बालबालिकाको इच्छा र आकांक्षाअनुसार दिनुपर्ने उल्लेख गरे। प्रविधिसँग जुध्न सक्ने ज्ञान नै गुणस्तरीय शिक्षा भएको भन्दै सबै पक्ष त्यसतर्फ लाग्नुपर्ने धारणा व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश वाग्लेले विद्यालय संस्कारको मन्दिर, चरित्र निर्माणको पाठशाला र सपनाहरू उडान भर्ने थलो भएको बताए। नेपाल तथा विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीमार्फत समाज र राष्ट्रमा विद्यालयको छवि उज्यालो बनाउन आग्रह गर्दै सीमित स्रोत र साधनका बाबजुद धैर्य र मेहनतका साथ विद्यार्थीलाई उज्ज्वल भविष्यतर्फ अग्रसर गराइरहेको उल्लेख गरे। शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउने प्रयासमा आफूहरू निरन्तर लागिरहेको र आगामी दिनमा पनि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।
त्यसै अवसरमा विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष भोजराज खनालले यस ऐतिहासिक अवसरलाई सफल, सभ्य र भव्य बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै ब्रह्मरूपा माध्यमिक विद्यालयको शैक्षिक यात्राले अझ नयाँ उचाइ प्राप्त गरोस् भन्ने कामना गरे।
कार्यक्रममा पूर्व अध्यक्ष, द’र्गालाल पण्डित, टिकाराम पगेनी, वरिष्ठ शिक्षा अधिकृत बिन्दु सुवेदी, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रेमराज पगेनी, टिकाराम–दमयन्ती अक्षयकोषका जगन्नाथ अधिकारी, नेदरल्याण्ड निवासी ह्यारी एण्ड क्यारी, विद्यालयकी छात्रा लक्ष्मी सुनारलगायतले विद्यालयको प्रगतिका विषयमा मन्तव्य राखेका थिए।
विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयको प्रगति विवरण र भावी योजना प्रस्तुत गरे। सो अवसरमा शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याउने पूर्व शिक्षक–अभिभावक संघका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
विद्यालयमा बम हिरा छात्रवृत्ति, विचित्र मोहन स्मृति छात्रवृत्ति, चिरञ्जीवी घिमिरे स्मृति शिक्षा सम्मान, हरिप्रसाद पंगेनी पुरस्कार, भादव–इन्दिरा छात्रवृत्ति, पूर्णराम–कृष्ण इन्द्र स्मृति शैक्षिक पुरस्कार, नक्षत्रबहादुर÷उखुमाया बस्नेत शैक्षिक पुरस्कार, स्व. लोकनाथ न्यौपाने स्मृति छात्रवृत्ति, गंगाप्रसाद राजभण्डारी स्मृति पुरस्कार, विष्णु–तुलसी पौडेल स्मृति पुरस्कार, लोकराज अधिकारी–मैना सुवेदी स्मृति पुरस्कार, गोपीराज–राधादेवी शैक्षिक पुरस्कार, कविराज खनाल कम्प्युटर पुरस्कार, वाटिका अवार्ड, पाठशाला स्टेशनरी एण्ड गिफ्ट पुरस्कार, जीवृद्धा छात्रवृत्ति तथा सरिता पौडेल स्मृति पुरस्कार प्रदान गरिएको थियो।
वि.सं. २०१८ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सयभन्दा बढी विद्यार्थी र ४९ जना शिक्षक–कर्मचारी कार्यरत छन्। विद्यालयमा प्राविधिक धारअन्तर्गत कम्प्युटर इन्जिनियरिङ (कक्षा ९–१२) तथा कक्षा ६–१० सम्म अंग्रेजी र नेपाली माध्यममा पठनपाठन हुँदै आएको छ।
कार्यक्रमको सञ्चालन शिक्षकद्वय विश्वमोहन पौडेल र विष्णु तिमल्सिना तिवारीले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, पीटी प्रदर्शन, प्राविधिक धारका विद्यार्थीहरूले रोबोट तथा विज्ञान प्रदर्शनी प्रस्तुत गरेका थिए।







Discussion about this post