No Result
View All Result
कविराज खनाल
लेखनाथ, २५ असोज ।
पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित लेखनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा लेखनाथ सापकोटा सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार सम्पन्न संस्थाको १७ औं वार्षिक साधारण सभामा तत्कालीन अध्यक्ष हरि बहादुर जीसीले पारिवारिक समस्या देखाउँदै पदबाट राजीनामा दिएपछि बाँकी कार्यकालका लागि सापकोटाले जिम्मेवारी सम्हालेका हुन्।
नयाँ नेतृत्वप्रति विश्वास र अपेक्षा
सापकोटाले संस्थाको संस्थापक चरणदेखि नै विभिन्न पदमा रहेर सहकारीको सुदृढीकरणमा योगदान पुर्याउँदै आएका छन्। अध्यक्ष पदमा चयन भएपछि उनले आगामी दिनमा सदस्यहरूको विश्वास र सहभागितामार्फत पारदर्शिता, अनुशासन र आर्थिक सबलतामा आधारित सहकारी सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “सहकारी सदस्यहरूको साझासम्पत्ति हो। हामी सबैको सानो योगदानले ठूलो परिणाम दिन सक्छ। अब सहकारीलाई नाफामुखी मात्र होइन, उत्पादनमुखी र समुदायमुखी बनाउने लक्ष्य लिएका छौं।”
साधारण सभामा सुझाव र समीक्षाहरू
साधारण सभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य तथा पूर्व जनप्रतिनिधि आशमान पुनले गरेका थिए। उनले सहकारीले विगतमा नीति–नियमलाई बेवास्ता गर्दै नाफाका लागि काम गर्दा केही समस्या देखिएको स्मरण गर्दै, अबका दिनमा सदस्यहरूले खबरदारीसाथ संस्थाको सञ्चालनमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले भने, “सहकारी केवल पैसा जम्मा गर्ने र ऋण दिने संस्था होइन, सदस्यको जीवनस्तर सुधार गर्ने माध्यम हो। त्यसका लागि पारदर्शिता र उत्तरदायित्व अनिवार्य छ।”
त्यसैगरी, संस्थापक अध्यक्ष नारायण प्रसाद वस्ताकोटी, पूर्व अध्यक्ष कुशलबाबु लामिछाने, सल्लाहकार शेखरनाथ लामिछाने, विकास अधिकारी लगायत वक्ताहरूले सहकारीले उत्पादन र रोजगारीसँग जोडिने कार्यक्रमहरू अघि बढाउनुपर्ने सुझाव दिए। उनीहरूले कृषि, पशुपालन, साना उद्योग र स्वरोजगारमुखी योजनामा लगानी विस्तार गरेर सदस्यहरूलाई प्रत्यक्ष लाभ पुर्याउनुपर्नेमा जोड दिए।
सम्मान र प्रेरणादायी क्षणहरू
वार्षिक साधारण सभामा विगतका पदाधिकारी तथा योगदानकर्ता सदस्यहरूलाई विशेष सम्मान गरिएको थियो।
पूर्व पदाधिकारी विश्व प्रकाश बराल र लेखनाथ सापकोटा, संस्थागत सम्मानका रूपमा सुन्दरनगर टोल विकास संस्था, ज्येष्ठ सदस्य उमादेवी पौडेल, बाल बचतकर्तातर्फ सागर लामिछाने र वन्दीप पौडेल, असल कारोवारतर्फ विकास अधिकारी, शैक्षिक क्षेत्रमा सदिक्षा त्रिपाठी र विवश पौडेल, कर्मचारीतर्फ सँगिता सापकोटा तथा असल अभ्यासतर्फ मधु भण्डारीलाई सम्मान गरिएको थियो।
सम्मानित अतिथिहरूले सहकारीले सदस्यहरूको प्रतिबद्धता र परिश्रमका कारण १७ वर्षमा उल्लेखनीय प्रगति हासिल गरेको भन्दै आगामी दिनमा अझ व्यवस्थित ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
सहकारीको संरचना र उपलब्धि
वि.सं. २०६५ सालमा स्थापना भएको लेखनाथ बचत तथा ऋण सहकारी संस्था हाल १ हजार ७८३ जना शेयर सदस्यहरूका साथ सञ्चालनमा छ।
सचिव शिवप्रसाद भण्डारीका अनुसार हालसम्म संस्थाको कुल शेयर पूँजी ७ करोड ३० लाख १७ हजार ६ सय रुपैयाँ पुगेको छ। नियमित बचत, ऋण प्रवाह, सदस्य हितका कार्यक्रम, सामाजिक उत्तरदायित्व र आर्थिक साक्षरतासँग सम्बन्धित गतिविधिहरू संस्थाले निरन्तर गर्दै आएको छ।
उपाध्यक्ष रामबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका सभामा सहकारीका सात सिद्धान्तहरूको वाचन अमृता अधिकारीले गरेकी थिइन्। उनले सहकारीको मूल दर्शन ‘आफैंका लागि, आफैंले’ भन्ने भावनालाई व्यवहारमा उतार्न सबै सदस्य एकजुट हुनुपर्ने बताइन्।
आगामी योजना
नव–निर्वाचित अध्यक्ष सापकोटाले सहकारीलाई आगामी पाँच वर्षभित्र आधुनिक प्रविधि–मैत्री संस्थाको रूपमा रूपान्तरण गर्ने योजना प्रस्तुत गरेका छन्।
उनका अनुसार, सहकारीले अब सदस्यहरूको वित्तीय पहुँच बढाउन डिजिटल प्रणाली लागू गर्ने, व्यवसायिक तालिम कार्यक्रम सञ्चालन गर्ने र उत्पादन–मुखी लगानीमा प्राथमिकता दिनेछ।
सापकोटाले भने, “हामी अब सदस्यको घरदैलोमा सहकारी सेवा पुर्याउनेछौं। हरेक रुपैयाँको लेखाजोखा पारदर्शी हुने र हरेक लगानीको प्रतिफल सदस्यले महसुस गर्ने वातावरण बनाउनेछौं।”
लेखनाथ सहकारीको यो नयाँ नेतृत्व परिवर्तन केवल पद हस्तान्तरण मात्र होइन, सहकारी आन्दोलनमा उत्तरदायित्व, पारदर्शिता र सदस्यमुखी दृष्टिकोण पुनर्स्थापनाको एक नयाँ अध्याय पनि हो।
No Result
View All Result
Discussion about this post