भीमपाणि बराल
लेखनाथ १८, भदौ । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको प्रथम गण्डकी प्रदेश भेलाले जनताको पानी सरकारको लगानी भन्ने भावनालाई कार्यान्वयनको लागि जोडदार माग गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ केन्द्रको आयोजनामा पोखराको पर्यटकीय स्थल बेगनासमा सम्पन्न भेलाले पोखरा घोषणापत्र जारी गर्दै सबै प्रकारका खानेपानी आयोजनाहरुको दायित्व राज्यले लिनुपर्ने माग गरेको हो ।
त्यस्तै भेलाले राष्ट्रिय सभाबाट हालै पारित खानेपानी सम्बन्धी राष्ट्रिय संकल्प प्रस्ताब कार्यान्वयन गराउन नेपाल सरकार लगायत सबै सरोकारवालाहरूसँग माग गरेको छ ।
खानेपानी सेवा प्रदायक संस्थाहरू गैह्र नाफामूलक भएकोले कर मुक्त आयोजना निर्माण र संचालन गर्न तथा नगर विकास कोषको ऋणमा ब्याजदर घटाउने साथै खानेपानी क्षेत्रको जोखिम बिमाको लागि आवश्यक प्रबन्ध गर्न माग गर्ने उल्लेख गरिएको छ ।
हालै सघीय खानेपानी मन्त्रालयबाट कार्यालयको संरचना घटाई सेवा प्रभावित भएकोले खारेजमा परेका कार्यालयहरूबाट सेवा निरन्तर संचालन गर्न माग गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
सरसफाई र वातावरणलाई उच्च प्राथमिकतामा राखी डिजाईन चरणबाटै वातावरणीय प्रभाव मुल्याङ्कन गर्दै प्रबिधिमैत्री र सुरक्षित खानेपानी आयोजना सञ्चालन गर्न माग गर्ने घोषणापत्रमा भनिएको छ ।
भेलाले महासंघको गण्डकी प्रदेश समिति गठन गरेको छ । समितिको अध्यक्षमा विमला पहारी (लेखनाथ), सचिवमा राजुराम श्रेष्ठ (दुलेगौडा), कोषाध्यक्षमा तुलसी पाण्डे (अमरापुरी) रहनु भएका छन् भने समितिको सदस्यमा सीता खड्का (पृथ्वीनारायण), विष्णुमाया श्रेष्ठ (भिमाद), रमेश गिरी (वेनी), गोकुल अधिकारी (वयरघारी), केशवराज पौडेल (गैडाकोट), कमलनाथ पौडेल (शिवालय कुस्मा), रमा गौतम (पुरनचौर) र नारायण श्रेष्ठ( वलेवा बाग्लुङ) रहेका छन् ।
यस अघि भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आज सर्वसाधारणलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनेतर्फ लाग्नुुपर्ने बताउनुुभयो । पानीको मुहना राज्यको हो भन्ने कुरालाई स्थापित बनाउनुु जरुरी रहेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका उर्जा तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले शुद्धता सहितको स्वच्छ दखान्ेपानी उपलब्ध गराउने तर्फ सरकार लागिरहेको बताउनुुभयो । गण्डकी प्रदेशले खानेपानी र सिंचाइमा छुट दिने घोषणा गर्दै यसको कार्यान्वयनलाई अघि बढाएको बताउनुुभयो ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले समुदायमा खानेपानीको आपूर्तिका लागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष जानुका केसी, गण्डकी प्रदेश संयोजक केशर निर्दोशी, केन्द्रीय सदस्य सन्दिप श्रेष्ठ, सुवास श्रेष्ठ, उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सह सचिव हरि तिमल्सिना, लेखनाथ खानोपनी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा,पोखरा महानगरपालिका वडा नम्वर ३१ का वडाअध्यक्ष ढकनाथ कडेल लगायतले स्वच्छ खानेपानी वितरणमा राज्यको ध्यान जानु पर्ने सुझाव राखेका थिए ।






Discussion about this post