पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा (नरेन) ले आफ्नो निजी सवारी वडावासीहरुका लागि निःशुल्क एम्बुलेन्स र शववाहनको रूपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।
बुधबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले एम्बुलेन्स अभाव भएको जनगुनासो आएपछि आफ्नै गाडी प्रयोग गर्ने घोषणा गरेका हुन् । ‘मेरो एउटा सेतो हाइलक्स गाडी छ । मेरो कार्यकालभरि वडामा कोही बिरामी हुनुभयो वा कसैको निधन भयो भने मेरो गाडीलाई एम्बुलेन्स र शव वाहनको रूपमा प्रयोग गर्न सक्नुहुनेछ,’ उनले भने, ‘त्यो निःशुल्क हुन्छ । मलाई सम्पर्क गर्नुहोला,’ उक्त गाडीको चाबी वडावासीको सेवाका लागि सधैँ उपलब्ध रहने उनले सुनाए ।
कार्यक्रममा स्थानीयले विकास निर्माणका अपुरा कामदेखि दैनिक जीवनमा भोग्नुपरेका समस्याहरू राखे । अधुरा सडक, अव्यवस्थित बिजुलीका पोल, खानेपानी, सार्वजनिक जग्गा संरक्षण र सुरक्षाका विषयमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।
वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को सेवा प्रवाह र विकास निर्माणको विषयमा जानकारी गराउन कार्यक्रम आयोजना गरेको हो ।
खासगरी छाडा चौपाया र सामुदायिक कुकुरका कारण समस्या परेको उनीहरूको गुनासो छ । ‘घरमा महँगा कुकुर पालेका छन् । दिशा पिसावका लागि सार्वजनिक ठाउँमा लैजान्छन्,’ उनीहरूले भने, ‘वडाले त्यस्ता व्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्यो ।’
प्रश्नहरूको जवाफ दिँदै वडाध्यक्ष थापाले विकास निर्माणका कामहरूमा सबैको सहकार्य आवश्यक रहेको बताए ।







Discussion about this post