लेखनाथ, ३० असार
पोखरा महानगरपालिका वडा नं ३२ वडा कार्यालयमार्फत सोही वडामा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयलाई स्मार्टबोर्ड हस्तान्तरण गरिएको छ ।
सोमवार एक समारोहका बीच पोखरा महानगरपालिका वडा नंं ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीलाई सो स्मार्टबोर्ड हस्तान्तरण गरे ।
७५ इञ्चको आकार भएको यो स्मार्टबोर्डको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ । विद्यालयमा यसअघि पनि विभिन्न शीर्षकमा स्मार्ट बोर्ड प्रयोग हुँदै आएको थियो । प्रविधिमैत्री शिक्षाका लागि यो थप योगदान हुने विश्वास लिइएको छ ।
ब्रह्मरुपा मावि कास्की जिल्लाकै उत्कृष्ट प्राविधिक धार अन्तर्गतको विद्यालय हो, जहाँ हाल ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विक्रम संवत २०६१ सालदेखि कक्षा ६ देखि १२ सम्म कम्प्युटर विज्ञान विषय पढाइ हुँदै आएको छ । साथै, एक दशकअघि देखि यहाँ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ्ग विषयमा समेत अध्यापन हुँदै आएको छ ।
शैक्षिक गुणस्तर र प्रविधियुक्त शिक्षामा कास्कीको पूर्वी क्षेत्रमा अब्बल मानिएको विद्यालयमा कास्कीसहित अन्य जिल्लाबाट समेत विद्यार्थीहरू प्राविधिकधार कम्प्युटर ईन्जिनियरिङ्ग तर्फ अध्ययनका लागि आउने गरेका छन् । विद्यालयमा छात्रावास र यातायातको समेत व्यवस्था गरिएको छ ।






Discussion about this post