लेखनाथ, असार ३० – लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १५ औं महाधिवेशनका लागि विभिन्न पदहरुमा आकांक्षी उम्मेदवारका शुभचिन्तक हरुले सामाजिक संजाल मार्फत जानकारी दिईरहेका छन्। असारको गर्मि संगै बिस्तारै तात्दै गरेको चुनावी सरगर्मी अझै बढ्नेछ भने नयाँ अनुहार हरु संघमा प्रवेश गर्ने देखिन्छ।
उम्मेद्वारी प्रस्तुत भईरहदा संघका पुर्व कार्यसमिति सदस्य तथा शुभकामना मार्वल एण्ड सेनेटरीका संचालक पुष्पमणि भण्डारीले भावी नेतृत्वलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउनका लागि केही सुझावहरू प्रस्तुत गर्नु भएको छ। प्रस्तुत सुझावहरूले संघको उद्देश्य र सदस्यहरूको अपेक्षा दुवैलाई सम्बोधन गर्ने लक्ष्य राखेका छन्।
नेतृत्वका लागि प्रमुख सुझावहरू:
१. प्रभावकारी नेतृत्व र मार्गदर्शन
नयाँ नेतृत्वले संघको उद्देश्य, दृष्टिकोण र नीति अनुसार कार्य अगाडि बढाउने र कार्यसमितिका सदस्यहरूलाई मार्गदर्शन गर्दै महत्वपूर्ण बैठकहरूको अध्यक्षता गर्ने ।
२. नीति निर्माणमा सक्रियता
व्यवसायीहरूको हकहितका लागि सरकार समक्ष कर, भन्सार, श्रमजस्ता नीतिहरूमा सुधारका सिफारिस राख्ने र नीति निर्माण प्रक्रियामा आवाज उठाउने ।
३. सरकार र निजी क्षेत्रबीच सेतु बन्ने
सरकार र व्यवसायी बीच संवादको माध्यम बन्ने र समस्या समाधानका लागि सरकारी निकायहरूसँग समन्वय गर्ने ।
४. नयाँ अवसर पहिचान र प्रवर्द्धन
लगानी, निर्यात, रोजगारीजस्ता नयाँ सम्भावना भएका क्षेत्र पहिचान गरी प्रदर्शनी, सेमिनार र व्यापार मेला जस्ता कार्यक्रम मार्फत प्रवर्द्धन गर्ने ।
५. प्रतिष्ठा र सम्बन्ध सुदृढीकरण
नेपाल उद्याेग वाणिज्य महासंघ लगायत राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै संघको प्रतिष्ठा बढाउने र स्थानीय उद्योगलाई राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने।
६. सदस्यहरूको समस्या समाधान
व्यवसायीहरूले भोगिरहेका कानुनी, कर र प्रशासनिक समस्याहरू समाधानका लागि पहल गर्ने।
७. संघको प्रशासनिक पारदर्शिता र निगरानी
बजेट, लेखापरीक्षण र कर्मचारीहरूको काममा निगरानी गर्दै सफा र पारदर्शी प्रशासन कायम राख्ने।
८. सामाजिक उत्तरदायित्वमा योगदान
शिक्षा, सीप विकास, आपतकालीन राहत र वातावरण संरक्षणमा संघको सहभागिता बढाउने ।
मुख्य उद्देश्यहरू
- व्यवसायीहरूको हकहितको सुरक्षा र नीतिमा सक्रियता।
- लेखापरीक्षण सार्वजनिक गर्दै पारदर्शी संघ निर्माण।
- ‘लोकल–टू–ग्लोबल’ अभियानमार्फत स्थानीय उद्योगको प्रवर्द्धन।
- युवा र महिला उद्यमशीलतालाई तालिम र अवसरमार्फत अघि बढाउने।
- डिजिटल सेवा प्रणाली अपनाउँदै ‘स्मार्ट संघ’ को परिकल्पना।

(भण्डारी लेखनाथ उद्योग वाणिज्य संघको पुर्व कार्यसमिति सदस्य तथा शुभकामना मार्वल एण्ड सेनेटरीका संचालक हुनुहुन्छ।)





Discussion about this post