लेखनाथ, २९ जेठ । गण्डकी प्रदेश सरकार मातहत पोखरा महानगरपालिका वडा नं–३० मा रहेको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल पोखरा–३०, मोहोरियामा बिहिबार प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।
अस्पताललाई डायलासिस सेवाको तालिम केन्द्रको रुपमा विकास गरिएपछि आयोजित डायलासिस सम्बन्धी पहिलो तालिमका सहभागीहरुलाई लक्षित गर्दै १ दिने प्रतिवेदन लेखन तालिमको आयोजना गरिएको हो ।
तालिममा सहभागीहरुलाई स्वागत गर्दै अस्पतालकी निमित्त कार्यकारी निर्देशक सरोजा पोख्रेलले यो तालिम डायलासिस तालिम सँग प्रत्यक्ष सम्बन्धीत नभए पनि विभिन्न प्रशासनिक कार्यमा दक्षता दिलाउन तथा आत्मविश्वास तथा प्रभावकारीता ल्याउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरेकी थिईन ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा–३० का सभापति ध्रुवराज न्यौपाने, नेकपा एमाले पोखरा–३० का अध्यक्ष कृष्ण अधिकारी लगायतले तालिम प्रभावकारी भएको र यसलाई भोलीका दिनमा व्यवहारमा पनि प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तालिमको सहजीकरण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले गर्नुभएको थियो ।
Discussion about this post