लेखनाथ, १४ चैत्र । लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ क्षेत्रका व्यवसायीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रमकाे आयोजना गर्ने भएकाे छ । संघले यहि चैत्र १६ गते शुक्रबार ओशाे उपवन पाेखराका प्रमुख स्वामी याेगानन्दकाे मुख्य प्रस्तुती रहने गरि कार्यक्रम गर्ने भएकाे हाे ।
कोभिड १९ को असरबाट शिथिल व्यवसाय क्षेत्र साथै व्यवसायीहरुको विचलित मनस्थिति एवं मानसिक स्वास्थ्यमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै व्यवसायीलाई सकारात्मक उर्जा र हौसला ” दिने हेतुले कार्यक्रमकाे आयोजना गरिएको संघका अध्यक्ष विनाेद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमकाे माध्यमबाट आर्थिक संकटका कारण सबै क्षेत्रलाई निराश तुल्याएको समयमा व्यवसायीहरुमा वढेकाे नैराश्यतालाई हटाउँदै उद्योगी व्यवसायीले आफ्नो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गरी दीर्घकालिन रणनीति तर्जुमा गर्न उत्प्रेरणा मिल्ने विश्वास लिएको कार्यक्रम संयाेजक एवं संघका कार्यसमिति सदस्य अर्जुन भण्डारीले बताए ।
कार्यक्रम शुक्रबार दिउँसाे ४:०० वजेदेखी ६:०० बजेसम्म सञ्चालन हुने र प्रवेश निशुल्क रहेकाे संघले जनाएकाे छ ।
Discussion about this post