पोखरा। १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा केन्याका धावकको वर्चश्व कायम भएको छ । केन्याका जुलियास मुरौकी वाहोम यसपालि च्याम्पियन हुँदै नगद ५ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए ।
नेपाल भूतपूव खेलाडी मञ्च आयोजनामा पोखरामा शनिबार भएको ४२ दशमलब १९६ किमीको खुला म्याराथनमा उनीसहित केन्याकै धावक दोस्रो र तेस्रो हुन सफल भएका हुन् ।
आयोजकका अनुसार जुलियासले निर्धारित दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका हुन् ।
केन्याका आइज्याक किहारा किमिरीले निर्धारित दूरी २ घण्टा २० मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो हुँदा एड्विन किप्लागट मिरितिमले ४० सेकेण्ड बढी लगाउँदा तेस्रोमा सीमित भए । नेपालको किरण बोगटी चौंथो भए । उनीहरुले क्रमशः ३ लाख, २ लाख र ३० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन समेत हो । विभिन्न ९ इभेन्टअन्तर्गत ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार नगद प्रदान गरिएको आयाजक मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव एवं मञ्चका निवर्तमान पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
Discussion about this post