लेखनाथ, ३ फागुन । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिलिङ्गे कृषि सहकारी संस्थाले आफनो १६ औं स्थापना दिवसको अवसर पारेर शेयर सदस्य किसानहरुलाई विउ विजन वितरण गरेको छ । कृषकहरुलाई कृषिमा आकर्षण गर्दै उत्पादनमा आत्मनिर्भर बनाउन सहकारीले कृषि औजार सहित विउ विजन वितरण गरेको हो ।
सहकारीको नाम कृषिसँग जोडिएकाले कृषि पेशालाई ब्यवसायीककरण गर्दै आफनै करेसावारीमा भए पनि तरकारी फलाएर खान उत्प्रेरणा जगाउने उद्धेश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि एक सय ५० जनालाई कृषि सामाग्री, दुई सय २० जनालाई वर्खे तरकारीको विउ वितरण गरिएको हो ।
कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नरेन्द्र थापाले असल किसानको पहिचान गरि वितरण गरिएको विउ विजनबाट उत्पादन वढाएर सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने विश्वास दिलाउँदै केही सहकारीमा देखिएका कमि कमजोरीलाई समाधान गर्न र वचत कर्ताको रकमलाई हिनामिना हुन नदिनका लागि वडाले पनि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
संस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले कृषि उत्पादनमा आत्मनिर्भर हु्नका लागि सहकारीले हरेक वर्ष नयाँ नयाँ कार्यक्रम ल्याउने गरेको वताएका थिए भने सल्लाहकार कृष्णमोहन भट्टराईले वितरण गरिएको विउको सहि सदुपयोग भए नभएको अनुगमन गर्नुपर्ने सुझाव राखेका थिए ।
संस्थाका उपाध्यक्ष यदुनाथ बरालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा कृषि सञ्जाल पोखरा २६ का संयोजक केशवराज ढुंगाना, विउ विजन वितरण कार्यक्रमका संयोजक सुर्य प्रसाद बञ्जरा र सचिव ईश्वरी प्रसाद अधिकारीले सहकारीले गरेको कृषक प्रोत्साहनको कार्यक्रमको प्रभाव र उपयोगीतालाई हेरेर आगामी दिनमा यसलाई निरन्तरता दिन सकिने विश्वास दिलाएका थिए ।
Discussion about this post