लेखनाथ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने बताएका छन् । कांग्रेस कास्की क्षेत्र १ को प्रथम क्षेत्रीय सम्मेलन बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
कोइरालाले कांग्रेससँग एक्लै चुनाव लड्ने ताकत रहेको र चुनाव जित्ने ठोकुवा समेत गरे । त्यसका लागि कार्यकर्ताकै बीचमा तित्तता हटाउनुपर्ने र एकतावद्ध भएर लाग्नुपर्ने उनले बताए ।
वर्तमान आर्थिक अवस्थाप्रति इंगित गर्दै नेता कोइरालाले शासकीय कामको कारण देशमा आर्थिक संकट आएको र यसमा विगतको सरकार मुख्य रुपमा दोषी रहेको बताए । उत्पादनमा वृद्धि हुन नसकेको, बेरोजगारीका कारण युवा विदेश पलायन बढ्दो क्रममा रहेको बताउँदै उनले यस विषयमा देशका प्रमुख दलहरुले सोच्नुपर्ने बताए ।
कोइरालाले कांग्रेससँग एक्लै चुनाव लड्ने ताकत रहेको र चुनाव जित्ने ठोकुवा समेत गरे
पार्टीका केन्द्रीय सहमहामन्त्री जीवन परियारले महँगी, गरिबी र बेरोजगारीका कारण देश आक्रान्त भएको बताउँदै यसको समाधानका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र संस्थागत गर्न बिपी कोइरालाको योगदान स्मरण गर्दै प्राप्त उपलब्धिलाई भ्रष्टाचार निर्मूलसहित सुसाशन माध्यमबाट गरिबीको रेखामुनि रहेका नेपालीलाई उठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरुप्रसाद बराल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेश सभा सदस्यद्वय कल्पना तिवारी, सरस्वती गुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, पार्टीका कास्की सभापति किशोरदत्त बराल, पूर्व सभापति कृष्ण केसी, नेपाल प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, क्षेत्र ३ का सभापति मनोज गुरुङ, मादी गाउँपालिका सभापति देवीजंग गुरुङ, पोखरा महानगरका सभापति सुरेन्द्रमान बिजुक्छे लगायतले बोलेका थिए ।
कांग्रेस कास्की क्षेत्र १ का सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति दुर्गा सुवेदीले स्वागत र सञ्चालन सचिवद्वय सरोज केसी र ओमप्रकाश गुरुङले गरेका थिए ।
Discussion about this post