पोखराको तालचोक देखि वडा नं ३१ बेगनासताल जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैत देखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ । ‘ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो,’ महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भने, ‘सरासर काम भयो भने २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको प्रतिबद्धता पनि त्यही छ ।’
विश्व बैंकको सहयोगमा उक्त सडकको स्तरोन्नति योजना अगाडि बढेको उनले बताए । ३ दशमलव २८ किमीको चार लेन सडक बनाउने जिम्मा ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ ले पाएको इन्जिनियर कोइरालाले बताए ।
‘एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको हो, ‘उनले भने, ‘फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्दैछ ।’ श्रोत : रासस
Discussion about this post