लेखनाथ, २५ असोज ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा भर्खरै सरुवा भई आएका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापा र ईलाका प्रशासन कार्यालय डाँडाको नाकमा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक सुनील मल्ललाई लेखनाथ उद्योग वाणिज्य संघले बिहिबार एक कार्यक्रमका विच स्वागत गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत थापा सरुवा भई कास्की प्रहरी प्रमुखको रुपमा आएकोमा सफल कार्यकालको शुभकामना सहित स्वागतार्थ संघले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरीक्षक थापाले चाडबाडलाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा योजना लागु गरिसकिएको वताउँदै ढुक्कले चाडवाड मनाउन आग्रह गरे । उनले सुरक्षा निकाय र व्यवसायी एक अर्काका परिपुरक भएको वताउँदै शान्ति सुरक्षा नभएको ठाउँमा व्यवसाय पनि फस्टाउन नसक्ने भएकाले व्यवसायीहरुका विभिन्न समस्याहरुप्रती पनि प्रहरी संवेदनशील रहने वताएका थिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले देशको समग्र अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको र यसले व्यवसायीहरुमा पनि विभिन्न समस्याहरु खडा गरेको वताउँदै व्यवसायीका समस्याहरुलाई सहज हुने गरि सहकार्य गरेर अगाडी वढ्नुपर्नेमा जोड दिएका थिए । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पछिल्ला दिनहरुमा समाजमा अराजक गतिविधिहरु वढ्दै गईरहेको र शान्ति सु–व्यवस्था कायम गर्ने सन्र्दभमा संस्थागत रुपमा हातेमालो गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले बैंकिङ्ग कसुरका विभिन्न प्रकारहरु एवं त्यसमा हुनसक्ने सजायको विषयमा जिज्ञासाहरु राखेका थिए भने प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले जिज्ञासाहरुको जवाफ दिएका थिए ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिईन भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
Discussion about this post