नक्कली नोट सहित तनहुँमा पक्राउ परेका दुइ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार सार्वजनिक गरेको छ ।
प्रहरीले मंगलबार व्यास नगरपालिका-१ गल्वुवेशीबाट नवलपुरको बुलिङटार गाउँपालिका-१ थामबेसी ठिमुरेटोल स्थायी घर भएका २० बर्षीय विनोद रामदास भनिने विशाल विक र सोही ठाउँका ३० वर्षीय गमबहादुर गरन्जालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताए । उनले भने, ‘पक्राउ परेकाहरुको साथबाट नक्कली एक हजार रुपैयाँका १७६ थान नोट बरामद भएको छ ।’
व्यास-१ गल्वुवेशीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शंका लागेपछि प्रहरीमा खबर गरेका थिए । स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली एक हजार रुपैयाँको नोट समेत पक्राउ गरेको थियो । दसैंका बेला नक्कली नोट दिएर ठगी गर्ने गिरोह सक्रिय हुने भएकाले शंका लागेमा तत्कालै प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ ।
Discussion about this post