लेखनाथ, ५ साउन । पोखरा–२७ तालचोकमा रहेको डायमण्ड माविमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागतका लागी कक्षा १२ का विद्यार्थीहरुद्धारा आयोजित कार्यक्रम फ्रेशर्स गाला शुक्रबार सम्पन्न भएको छ ।
विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सहित रबि महल डाँडाको नाकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका निर्देशक माधवशरण उपाध्यायले विद्यार्थीहरू नै विद्यालय गतिविधिका केन्द्र रहेको र उनीहरूलाई नै केन्द्रमा राखेर विद्यालयका समग्र कार्यक्रमहरू तय हुने गरेको बताएका थिए । निर्देशक उपाध्यायले विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन गरी कक्षा ११ मा भर्ना भएका १ सय ६० जना विद्यार्थीहरूले उच्च शिक्षाका लागि उत्कृष्ट शैक्षिक संस्था छनोट गरेकोमा विद्यार्थीलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै संस्थापक प्राचार्य याम बहादुर रोकाले विद्यार्थीका रूचि र आवश्यकताअनुसारको शिक्षा प्रदान गर्न विद्यालय सधैं सचेत रहेको र विद्यार्थीहरुले पनि मेहनतका साथ पढेर आफ्नो सपनालाई साकार रुप दिनुपर्ने वताएका थिए ।
विभिन्न लाईभ म्यूजिक, नृत्य लगायतका प्रस्तुतीहरु समेटिएको उक्त कार्यक्रममा गायक बालकृष्ण वाग्लेले आफ्नो गायन प्रस्तुती राखेका थिए भने कक्षा ११ का विद्यार्थीहरुले पनि आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । उक्त अवसरमा विद्यालयको आईएनजी ग्रुपले विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाउँदै उत्कृष्टलाई पुरस्कार समेत वितरण गरेको थियो ।
कक्षा १२ का विद्यार्थी सुजन रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी आयुष ढुंगानाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कक्षा १२ कै विद्यार्थीहरु नारायणी दास, भावना ओझा, कञ्चन र राखीले गरेका थिए ।
Discussion about this post