पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा अस्थायी पुल बनाइने भएको छ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको टोलीले आइतबार जोखिमयुक्त पुलको स्थलगत निरिक्षण गरेर तत्कालै अस्थायी पुल बनाउने निर्णय गरेको हो । केही सञ्चार माध्यममा पुलको जोखिमपूर्ण अवस्थाको बारेमा सार्वजनिक भएपछि मन्त्री जुग्जालीले चासो दिएर आफै निरिक्षणमा गई अस्थाई पुल बनाउन अगुवाई गर्नुभएको हो ।
सो ठाउँमा दश दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउन पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएको मन्त्री जुग्जालीले बताउनुभयो ।
तालखोलामा आवत जावत गर्न बनाइएको पक्कि कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २०० घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षयता जोखिम मोलेर आवत जावत गर्दै आएका छन् ।
आधा भाग भत्किएर खोलामा खसेको पुलको सल्यामाथि राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण तवरले वारपार गर्नुपर्ने अवस्था छ ।
Discussion about this post