पोखरा, ४ साउन । पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीय जनताहरुले १५ दिन भित्र सम्झौंता पुरा नगरे महानगरलाई फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।
पोखरा ३२ को राधाकृष्ण मन्दिर पछाडी र सेती नदीको बिचमा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आईरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा नजिकैं बाच्छेबुढुवामा भएको ल्याण्डफिल्ड साईटमा फोहोर व्यवस्थापन गर्न नमिलेपछि वडा नं. ३२ का स्थानीयले अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सहमति दिएका थिए ।
महानगरपालिका र वडावासी बिच दैनिक रुपमा त्यहाँ लगिने फोहोरलाई माटोले पुर्ने सहमति भएको थियो । अस्थायी रुपमा फोहोर मैला व्यवस्थापन गर्न सहमत भएका वडावासी यतिबेला नगरपालिकाले भने झैं फोहोर माटोले पुर्ने काम नगरेपछि विरोधमा उत्रिएका हुन् ।
फोहोर लगेर जथाभावी फाल्दिने, फोहोरलाई माटोले नपुर्ने गरिएपछि वरपरको वातावरण र पर्यावरणमा समेत यसले असर पारेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय मेघराज पौडेल, खेमबहादुर पुन, शरण कुमार प्रधान र कुलमणि खनाल लगायतले मेयर आचार्यलाई दिएको पत्रमा वरपरको वस्तीमा दुर्गन्ध फैलिएको र भाइरल ज्वरोको प्रकोप समेत बढेको उल्लेख छ ।
Discussion about this post