रामशरण नेपाली
पोखरा, २० असार । चिउलीपाचे तमु समाज आमा समिति पोखरा–१२ को अध्यक्षमा लोक कुमारी गुरुङ्ग चयन भएकी छिन । संस्थाको बुधबार सम्पन्न छैठौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गुरुङ्गलाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा विष्णु कुमारी गुरुङ्ग, सचिवमा सुन माया गुरुङ्ग, सह–सचिवमा उमा गुरुङ्ग, कोषाध्यक्षमा मिनसुभा गुरुङ्ग, सह–कोषाध्यक्षमा योगमाया गुरुङ्ग, सदस्यहरुमा नुनसुभा गुरुङ्ग, रुपा गुरुङ्ग, पुर्णमाया गुरुङ्ग, टौसुभा गुरुङ्ग, सुनमाया गुरुङ्ग, पुष्पा गुरुङ्ग, औसुभा गुरुङ्ग, नुनसुभा गुरुङ्ग, गंगा गुरुङ्ग, मेनसुभा गुरुङ्ग र आशमाया गुरुङ्ग रहेका छन ।
नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुलाई जङ्ग बहादुर गुरुङ्ग संयोजक, डम्बर गुरुङ्ग र खिम गुरुङ्ग सदस्य रहेको निर्वाचन समितिले बुधबार नै सपथ ग्रहण समेत गराएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समाजका बरिष्ठ सल्लाहकार WO2 (डब्लु ओ टु) गम बहादुर गुरुङ्गले समाजलाई आफुले सदैव तन मन र धनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको माध्यमबाट वृद्ध आमाहरुलाई सम्मान गर्न पाउँदा अत्यन्त खुशी लागेको र उहाँहरुको आर्शिवाद सदैव मिलिरहने आशा व्यक्त गरेका थिए ।
गुरुङ्गले आफुलाई समाजले गरेको अभिनन्दन र सम्मानलाई कहिल्यै नभुल्ने वताए । उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निवर्तमान कार्यसमितिले पनि नयाँ समितिलाई सहयोग गर्दै अगाडी वढ्न आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले चिउली पाचे आमा समुहका महिलाहरुले छोटो समयमा धेरै राम्रा कामहरु गरेको बताइन् । ‘स्थापना भएको ६ वर्षमा सबैको मन मुटुमा बस्न सफल बनेको छ,’ उनले भनीन्, ‘घरको काम सकेर समाज सेवामा पनि लाग्नुभएको छ । आगामी दिनमा पनि यो जोस यस्तै रहन सक्नुपर्छ ।’ आमा समुहमा लागेर नेतृत्व तहमा पुग्नसक्नुपर्ने उनको भनाई थियो । ‘म पनि यसरी नै समाज सेवा र संस्थामा लागेर यहाँहरुकै मायाले सांसद बनेको छु,’ उनले भनीन्, ‘म एउटा उहारहण मात्र हुँ । आमा समुहमा काम गरेर नेतृत्व तहसम्म पुग्ने बन्नुपर्छ ।’
आफ्नो जीतमा सिक्लेसीहरुको पनि योगदान रहेकाले समाजको विकासका लागि सधैं साथमै रहने उनको प्रतिवद्धता थियो । ‘यो पटक पनि यस क्षेत्रका लागि २ सयको हाराहारीमा बजेट परेको छ,’ उनले भनीन्, ‘यसरी नै यस क्षेत्रको विकास र आमा समुहको नेतृत्वसँगै क्षमता वृद्धिका लागि मेरो साथ रहने प्रतिवद्धता जनाउँछु ।’
उक्त अवसरमा संयुक्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष एवं समाजका सल्लाहकार जङ्ग बहादुर गुरुङ्ग, चिउलीपाचे तमु समाजका केन्द्रीय कार्यवाहक अध्यक्ष क्या. लोककृष्ण गुरुङ्ग, तमु धिं नेपाल केन्द्रीय आमा समितिका कार्यवाहक अध्यक्ष पवित्रदेवी गुुरुङ्ग, नेपाली काँग्रेस क्षेत्र नं.१ का सह–सचिव मोती गिरी, चिउलीपाचे तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार रण बहादुर गुरुङ्ग, तमु प्हेलु संघ कास्कीका नवनिर्वाचित अध्यक्ष तिलमाया गुरुङ्ग, सञ्चारकर्मि खिमा गुरुङ्ग लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद भएर समुदायलाई गौरवान्दित तुल्याएकोमा माननीय सरस्वती गुरुङ्ग, समाजलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याएवापत समाजका बरिष्ठ सल्लाहकार WO2 (डब्लु ओ टु) गम बहादुर गुरुङ्ग, समाजसेवी एवं नेपाली काँग्रेसका सह–सचिव मोति गिरी, पत्रकार वसन्त श्रेष्ठ, समाजका वृद्ध आमाहरु हाई सुबा गुरुङ्ग, हाई सुवा गुरुङ्ग (ख), लिलसुबा गुरुङ्ग, बिबिमाया गुरुङ्ग, अबिना गुरुङ्ग, कली गुरुङ्ग लगायत विभिन्न सामाजीक व्यक्तीहरु, दानदाताहरु एवं कलाकारहरुलाई सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष पदम शोभा गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लोक कुमारी गुरुङ्गले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव विष्णु कुमारी गुरुङ्गले गरेकी थिईन ।
Discussion about this post