गण्डकी सरकारले प्रदेशभित्रको यातायात व्यवस्थालाई तत्कालै सुधार गर्न लेखनाथ क्षेत्रमा अर्को यातायात व्यवस्था कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ । लेखनाथबाट ३ महिनाभित्र लाइसेन्स र सवारी दर्ताको काम गर्न सकिने समितिको सुझावलाई क्याबिनेटले पास गरेको हो । यस्तै, यातायात व्यवस्था कार्यालय, बागलुङबाट चारपांग्रे सवारीसाधनको लाइसेन्स वितरणको व्यवस्था मिलाउने निर्णय भएको छ ।
पोखराबाट १५ दिनभित्रै हेभी सवारीचालक अनुमतिपत्र दिने गरी काम थाल्ने अर्को निर्णय भएको छ । यो सेवा अहिले बन्द छ । लाइसेन्स वितरणलाई सहज बनाउन दैनिक तोकिएका कोटा संख्या वृद्धि गर्ने निर्णय भएको छ । कास्कीमा हाल ४ सय १९ तथा बागलुङ, नवलपुर र तनहुँबाट गरेर ६ सय ५५ वटा कोटा छ । यातायात कार्यालय कास्कीमा यो कोटा दोब्बर बनाउने र अन्य ठाउँमा आवश्यकता अनुसार थप गर्ने निर्णय भएको हो ।
प्रस्तावअनुसार कोटा वृद्धि गरे चाप कम हुने र पालो पर्खनुपर्ने समय घट्ने बताइएको छ । अहिले फाराम भरेको १६ दिनसम्म लाइसेन्स परीक्षाका लागि कुर्नुपर्ने अवस्था छ भने यो व्यवस्था लागु भए ७ दिनमा झर्छ । बिदाको दिन र कार्यालय समयबाहेक समयमा पनि लिखित परीक्षा, बायोमेट्रिक र प्रयोगात्मक परीक्षा लिन सकिने प्रस्ताव छ । प्रदेशका नाकामा विदेशी सवारी साधनको पटके रुट जारी गर्न अधिकार प्रत्यायोजन गर्ने, यातायात व्यवस्था ऐन, २०७६ को कार्यान्वयन गर्न नियमावली र अन्य कानुनहरु तत्कालै निर्माण गर्ने निर्णय भएको छ ।
Discussion about this post