लेखनाथ १३, फागुन।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विद्यार्थीलाई किताबी ज्ञानका अलावा व्यावहारिक र अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा अपरिहार्य भएको बताएका छन् ।
डायमन्ड मावि, तालचोकको ३५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कुलपति प्राडा गुरुङले त्यस्तो बताएका हुन् । उनले आफ्नो कुशलता देखाउने, योग्यता प्रदर्शन गर्ने, विचार प्रस्तुत गर्ने नागरिक उत्पादनबाट शिक्षा क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायण सुवेदीले अहिलेको युग विज्ञान प्रविधिको युग भएकोले विद्यार्थीले त्यसको सदुपयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्राचार्य यमबहादुर रोकाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
विद्यालयमा १० वर्ष भन्दा बढी सेवा गरेका शिक्षक–शिक्षिकाहरु महेश्वर पण्डित, बुद्धिसागर अधिकारी, विकास लामिछाने, सम्झना लामिछाने, अनुराधा पौडेल, सम्झना सुवेदी, विनोद थापा, केदार अधिकारी, पवित्रा अधिकारीलाई दीर्घसेवा पदकबाट सम्मानित गरिएको थियो । पछिल्लो ३ वर्षमा एसइई र प्लस टुतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
विद्यालय परिसरमा २ दिनसम्म आयोजित कार्यक्रममा शैक्षिक प्रदर्शनी, फुड फेस्टिभलदेखि मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम भएका थिए । विद्यालय निर्देशक माधवशरण उपाध्यायले विद्यालयले कक्षा ११ र १२ मा ३ वर्षदेखि होटल म्यानेजमेन्ट पनि पढाउँदै आएको र वार्षिक कार्यक्रम अनुसार नै फुड फेस्ट आयोजना गरेकोे बताए । कार्यक्रममा व्यवस्थापक हरिप्रसाद लामिछानेले स्वागत र शिक्षक नारायण पराजुलीले संचालन गरेका थिए ।
Discussion about this post