पोखरा ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाले गहना र लुगालाई नभई नेतृत्व क्षमतालाई सामाजिक प्रतिष्ठाको विषय बनाउनुपर्ने सुझाव दिएकी छन् । पोखरा ९ को वडास्तरीय महिला सञ्जालले आयोजना गरेको उद्घोषण तालिममा उनले आर्थिक रुपमा आत्मनिर्भर बन्ने विषयमा ध्यान दिनुपर्ने जनाइन् ।
उनले भनिन्, ‘हामी महिला धेरै गहना र महंगा कपडा लगाउने विषयलाई मात्र प्रतिष्ठाका रुपमा सोच्छौं । अब त्यो सोच परिर्वतन गरेर व्यावसायिक रुपमा सबल र सक्षम हुँदै सामाजिक, राजनीतिक र आर्थिक रुपमा समाजमा स्थापित हुने विषयलाई प्रतिष्ठानको रुपमा लिनुपर्छ ।’ उनले महिलामा कानुनी ज्ञान र आफ्ना अधिकारबारे जानकारी हुनुपर्नेमा जोड दिइन् ।
उपप्रमुख गुरुङले महिलाका धेरै अधिकार संविधानमा लेखिएको बताउँदै अब त्यसको कार्यान्वयन गर्नुपर्ने खाँचो औंल्याइन् । विगतमा भन्दा महिलामा परिर्वतन आए पनि सोचे जस्तो नभएको उनको ठम्याइँ छ । उनले गलत संस्कारलाई परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै परिर्वतन आफैैंबाट सुरुवात गर्नुपर्ने सुझाइन् ।
वडा स्तरीय महिला सञ्जालका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, निर्वतमान वडाध्यक्ष रामराज लामिछाने, वडा सदस्य एवं न्यायिक समिति सदस्य भावना श्रेष्ठ, वडास्तरीय महिला सञ्जालका उपाध्यक्ष सरिता बास्तोला लगायतले बोलेका थिए । तालिममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सेना पंगेनीले सहजीकरण गरेकी थिइन् ।
Discussion about this post